विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले ९ वटा समिति गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले वैशाख २ र ३ गते हुने अधिवेशनका लागि प्रतिनिधि चयनको प्रक्रिया तय गरेको छ । चैत्र २८ गते भूगोलका प्रतिनिधिहरू चयन गरिने र चैत्र २९ गते जनसङ्गठनहरूको प्रतिनिधि चयन गरिने महानगरका सचिव बलराम गिरीले जानकारी दिए ।
महानगरका अध्यक्ष रोहित कोइरालाको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । साथै, अधिवेशनको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू पनि बनाइएका छन् ।
प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजक बलराम गिरी, प्रचार-प्रसार उपसमितिको संयोजक राम पोखरेल, आर्थिक उपसमितिको संयोजक मनोज विक्रम साह र सहसंयोजक सी एम श्रेष्ठ, स्वयंसेवक उपसमितिको संयोजक प्रकाश पोखरेल, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन लेखन उपसमितिको संयोजक रोहित कोइराला, अतिथि सत्कार उपसमितिको संयोजक उपाध्यक्ष सुनिता श्रेष्ठ, स्वास्थ्य उपसमितिको संयोजक राम पाण्डे र खाद्यान्न तथा आवास उपसमितिको संयोजक भोला बराल रहेका छन् ।
महानगरका सचिव बलराम गिरीका अनुसार प्रत्येक १५ जना सङ्गठित सदस्यका लागि १ जना प्रतिनिधि चयन गरिनेछ । साथै, ३ जना प्रतिनिधिहरूमा अनिवार्य रूपमा १ जना महिला रहनेछ । प्रतिनिधिको २० प्रतिशत युवा र सीमान्तकृत, दलित, मुस्लिम, अल्पसङ्ख्यक तथा मारवाडी समुदायको प्रतिनिधित्व पनि सुनिश्चित गरिनेछ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेतले पार्टीभित्र गुटबन्दी नभएको दाबी गर्दै सर्वसम्मत नेतृत्व चयनमा जोड दिनुपर्ने बताए । उनले पार्टीलाई कमजोर बनाउन केही तत्व सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरे ।
नेकपा एमाले मोरङका सचिव सोमराज थापाले एमाले जत्तिको व्यवस्थित र अनुशासित पार्टी नभएको दाबी गर्दै महानगरको दोस्रो अधिवेशनले एकताको सन्देश दिने विश्वास व्यक्त गरे ।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले पार्टीलाई व्यक्तिभन्दा माथि राख्नुपर्ने र व्यक्ति केन्द्रित राजनीति गर्दा पार्टीलाई क्षति पुग्ने चेतावनी दिइन् । उनले पार्टी नेतृत्वले जनप्रतिनिधिहरूलाई मार्गनिर्देश गर्नुपर्ने भए पनि विराटनगरमा त्यसको अभाव देखिएको उल्लेख गरिन् ।