सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरूले समयमा फिर्ता नगर्दा सहकारीहरू थप सङ्कटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

आज धनकुटामा सम्पन्न ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा अभियन्ताहरूले सहकारी क्षेत्रमा देखा परेका चुनौतीबारे आवाज उठाएका हुन् ।

Advertisement

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा मदनचोकबाट सुरु भएको प्रभातफेरी (शोभायात्रा) धनकुटा नगरपालिका-४ स्थित श्रीपञ्चमी पार्कमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा धनकुटाका विभिन्न सहकारी संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको प्रमुख समस्या ऋणी सदस्यहरूको गैर-जिम्मेवारीपन र सहकारी सञ्चालक समितिहरूको असङ्गठित व्यवस्थापन भएको बताए ।

उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य अनुशासनसमेत धेरैले पालना गरेका छैनन् । यस्तो प्रवृत्तिले सहकारी क्षेत्रलाई संकटतर्फ धकेलिरहेको छ । जसरी भए पनि ऋण तिर्न बाध्य पार्नुपर्छ, अन्यथा कानुनी कारबाही हुन्छ ।’

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले सहकारीहरूभित्र अनुशासन कायम गर्न नसक्दा समस्या बल्झिएको उल्लेख गरे । उनले भने, ‘जहाँ पैसा धेरै हुन्छ, त्यहाँ समस्या पनि आउँछ । सहकारीहरूले ऋण लगानी गर्दा थप जिम्मेवारीपूर्वक निर्णय लिनुपर्छ ।’

बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमप्रसाद घिमिरेले ऋण लिने तर नतिर्ने प्रवृत्तिले सहकारी सदस्यहरू नै निराश भएको बताए । उनले भने, ‘कतिपय व्यक्तिहरूले सहकारीबाट ऋण लिने तर फिर्ता गर्न नपर्ने सोच राखेका छन्, जसले गर्दा अन्य सदस्यहरू समस्यामा परेका छन ।’

 

जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले सहकारीका समस्या समाधानका लागि छलफल तथा रणनीतिक योजनाहरू अघि बढिरहेको बताए । उनले भने, ‘सबै सहकारीहरू समस्याग्रस्त छैनन्। तर, केही गलत प्रवृत्तिहरूले समग्र सहकारी क्षेत्रलाई असर र्पुयाइरहेका छन ।’

सहकारी दिवसको अवसरमा धनकुटाका सबै सहकारी कार्यालयहरूमा दीपावली गरिएको छ । साथै, श्रीपञ्चमी पार्कमा रहेका १३ जना अनाथ बालबालिकालाई स्टेसनरी सामग्री तथा फलफूल वितरण गरिएको छ ।

सहकारी प्रणालीलाई बलियो बनाउन वक्ताहरूले ऋणी सदस्यहरूले समयमै आफ्नो दायित्व पूरा गर्नुपर्ने, सहकारी सञ्चालनमा पारदर्शिता अपनाइनुपर्ने र कानुनी कठोरता अपनाइनुपर्ने धारणा राखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!