संगालोखबर संवाददाता


झापा । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सीमित भएको भारतको मानेभन्ज्याङ बुधबार एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक आदर्श युवा क्लबलाई २-० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ ।

Advertisement

मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६ औँ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरज रसाइलीले गोल गर्दे मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए । सिंहको प्रहार पेनाल्टी एरियाबाट आदर्शका खेलाडीले क्लियर गर्न नसकेको मौकामा रसाइलीले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

मानेभन्ज्याङका लागि दोस्रो गोल खेलको ६१ औँ मिनेटमा सम्भव भयो । कप्तान करण राईले दिएको पासलाई सौरभ तामाङले गोल गरे । आदर्शका खेलाडीले अफसाइडको अपिल गर्दै छोडेको बललाई रेफ्रीले गोल दिएका थिए ।

खेल अवधिभर बल पोजिसन राखेको आदर्शले स्कोर भने गर्न नसक्दा दर्शक निरास बनेका थिए । घरेलु दर्शकको उल्लेख्य समर्थन पाएपनि पाहुना टोलीको अगाडि आदर्श निरीह बनेको थियो ।

खेलको ५३औँ मिनेटमा आदर्शले पेनाल्टी पाएको थियो । आदर्शका सौरभ सुुब्बालाई बिपक्षी खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि पेनाल्टी पाएको थियो । अनुुभवी खेलाडी रोमन भुजेलले प्रहार गरेको पेनाल्टी मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङले उत्कृष्ठ बचाउ गरेका थिए । खेलको ६६ औं मिनेटमा आदर्शका कप्तान पुजन थापाले गरेको कढा प्रहार पोष्टमा लागेर बाहिरियो ।

खेलको ११आँै मिनेटमा मानेभन्ज्याङका सुरज रसाईलीले दिएको क्रस पासमा करन राईले टच गरेको बल फ्रेममा पर्न सकेन । मानेभन्ज्याङले खेलमा अरु खतरा मुुभ बनाउन सकेको थिएन ।

मानेभन्ज्याङ अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको थियो । खेलको ५६औ मिनेटमा मानेभन्ज्याङका उमंग राई दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

त्यसैगरी, ७०औँ मिनेटमा प्रवेश रोय पनि दोहोरो पहेँलो कार्डका कारण मैदान छोडेका थिए । त्यसपछि खेलमा दवाबको सामना गरेको मानेभन्ज्याङले बिपक्षी खेलाडीलाई स्कोर गर्न भने रोकेको थिए ।

खेलको प्लेयर अफ द म्याच मानेभन्ज्याङका गोलरक्षक लाक्पा तामाङ घोषित भए । उनलाई प्रमुख अतिथि बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष भवेस राजबंशीले नगद तीन हजार रुपैंयाँ पुरस्कार दिए । बिहीबारको अन्तिम सेमिफाइनल खेल बिर्तामोड युनाइटेड एफसी र बेलबारी एफसी मोरङबिच हुने छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भएको आज भएको खेलमा बुद्धशान्तिका चारजना जेष्ठ मजदुरलाई सम्मान गरिएको थियो । जेष्ठ मजदुरहरु मदन राजबंशी, मस्लिम महमद, कालु राजबंशी र सुनिल राजबंशीलाई नगदसहित सम्मान गरिएको आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष दिपक सुुब्बा थेबेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!