संगालोखबर


विराटनगर । कोशी प्रदेशमा पहिलोपटक अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो ।

खेलकुदको विकास र प्रवर्द्धनका लागि सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव भेला हुनेछन् । प्रदेशहरूबीच खेल आदान-प्रदान, संयुक्त प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने योजनासहित सदस्यसचिव सम्मेलन आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन् । विराटनगरमा शुक्रबार नै कोशी र मधेश प्रदेशबीच खेलकुदसम्बन्धी द्विपक्षीय समझदारी गर्ने तयारी छ । त्यसपछि शनिबार सुनसरीको चतरास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा सम्मेलन हुनेछ ।

सम्मेलनमा प्रदेशहरूले हालसम्म हासिल गरेका उपलब्धि, खेलकुद क्षेत्रका चुनौती, आपसी सहकार्य र आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलगायत विषयमा छलफल हुने प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव विप्लव घोषले बताए ।

उनका अनुसार अन्तरप्रदेश समझदारीमार्फत खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीबीच प्राविधिक ज्ञान, सीप, रणनीति र अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको छ । तुलनात्मक रूपमा कमजोर रहेका खेल विधाको पहिचान गरी संयुक्त तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने र नियमित रूपमा द्विपक्षीय प्रतियोगिता तथा मैत्रीपूर्ण खेल आयोजना गर्ने योजनासमेत अघि सारिएको घोषले जानकारी दिए ।

सम्मेलनमा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउने विषयमा पछि छलफल हुनेछ । कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने प्रतियोगितामा ३२ खेल समावेश छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!