
धनकुटा । धनकुटाको सिधुवाबाट आहालेसम्मको सडक कालोपत्रे हुने भएको छ । महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जाने सो सडकको ४ किलोमिटर कालोपत्रे गर्न लागिएको हो ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्य र स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रुपमा सडक कालोपत्रेको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालय धनकुटाले सिधुवा बजारबाट जितपुरतर्फको पहिलो प्याकेज अन्तर्गतको उक्त सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे हुने जानकारी दिएको छ ।
११ करोड ९ लाख २५ हजार रुपैयाँको लागतमा हुन लागेको सडक कालोपत्रेको ठेक्का याशुकी-भानुमती जे.भी.ले लिएको छ । २०८५ वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आचार्यले सडक निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउदै उक्त सडकलाई प्रादेशिक सडकका रुपमा विकास गरेर गौरवको योजनका रुपमा अगाडि बढाउने धारणा राखे ।
यस्तै, स्वास्थ्य मन्त्री पराजुलीले पहिलो प्याकेजको काम सकिएपछि जितपुर हुँदै लेगुवासम्म जोड्न अर्को प्याकेज निर्माणलाई निरन्तरता दिइने बताएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 
























