संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित रात्रिकालीन व्यवसायलाई समयसापेक्ष, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले नयाँ मापदण्ड लागू गरेको छ । होटल, रेस्टुरेन्ट, क्लब, गजल रेस्टुरेन्ट, स्पा, लाउन्ज, डान्सबार, डिस्कोथेक लगायतका मनोरञ्जनात्मक व्यवसायमा मोरङ प्रशासनले नयाँ मापदण्ड लागू गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकको निर्णयअनुसार मोरङको स्थानीय परिवेश सुहाउँदो ‘रात्रिकालीन तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी एकीकृत मापदण्ड’ १ महिनाभित्र तयार गरी लागू गरिने भएको छ ।

Advertisement

उक्त मापदण्ड पूर्णरूपमा तयार भई लागू नभएसम्मका लागि विभिन्न सर्तहरू तोकी व्यवसाय सञ्चालनको अनुमति दिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

अस्थायी मापदण्डअनुसार होटल व्यवसायीहरूले राति १० बजेभित्र व्यवसायको मूल गेट बन्द गरिसक्नुपर्नेछ भने राति १०ः३० बजेसम्म सबै ग्राहकलाई होटल परिसरबाट बिदा गरिसक्नुपर्नेछ ।

मादक पदार्थ सेवन गरेर होटल परिसर छाड्ने सेवाग्राहीले स्वयम् सवारी साधन चलाउनु पर्ने भए निजको सुरक्षाको सुनिश्चितता गर्नुपर्नेछ भने सोको विकल्प नभएमा सञ्चालकले नै सुरक्षित यातायातको व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख छ ।

त्यस्तै व्यवसाय परिसरमा ध्वनि प्रदूषण नहुने वातावरणको सुनिश्चितताका लागि सावधानी अपनाउनुपर्ने, प्रवेशद्वार र वरपरको क्षेत्रमा कम्तीमा ३० दिनको रेकर्ड सुरक्षित हुने गरी सिसी क्यामेरा तथा पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्ने नियम बनाइएको छ ।

कर्मचारीहरूका हकमा अनिवार्य नियुक्ति पत्र दिने, बैंकिङ प्रणालीमार्फत न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउने, जोखिम बीमा गर्ने र राति काम गर्ने महिला कर्मचारीका लागि सुरक्षित पिकअप तथा ड्रपका साथै रात्रिकालीन खानाको प्रबन्ध मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै कार्यस्थलमा कुनै पनि प्रकारको यौन उत्पीडन, शोषण वा अमर्यादित व्यवहार हुन नदिने आचारसंहिता कडा रूपमा पालना गराउनुपर्नेछ । प्रशासनले डान्सबार, क्लब, डिस्कोथेक, लाउन्ज बार र गीतगजल रेस्टुरेन्टहरूमा १८ वर्ष मुनिका बालबालिकाहरूलाई ग्राहकका रूपमा प्रवेश नगराउन तथा उनीहरूलाई मदिरा वा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

यसका साथै खाद्य पदार्थको स्वच्छता, महिला र पुरुषका लागि अलग-अलग लैङ्गिकमैत्री शौचालय र फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने सर्त राखिएको छ । जिल्लामा सञ्चालित होटलहरूले विदेशी नागरिकहरूको पासपोर्ट अनिवार्य इन्ट्री गरी तथा नेपाली नागरिकहरूको परिचयपत्रको रेकर्ड राखेर मात्रै होटल बुक लिनुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ नियमहरूको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय तह र होटल व्यवसायी संघका प्रतिनिधिहरू सम्मिलित एक ‘जिल्लास्तरीय रात्रिकालीन व्यवसाय अनुगमन समिति’ गठन गरिएको छ ।

उक्त समितिले तोकिएका सर्तहरूको पालना भए-नभएको विषयमा नियमित तथा आकस्मिक अनुगमन गर्नेछ । तोकिएका सर्तहरूको पालना नगरी कानुन वा मापदण्ड विपरीत गतिविधि गरेको पाइएमा प्रचलित उपभोक्ता संरक्षण ऐन, कालोबजारी ऐन तथा अन्य कानुन बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!