संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-६ ब्रम्हपुराबाट करिब दुई दशकपछि डम्पिङ साइट सारिएको छ । ब्रम्हपुराको अव्यवस्थित डम्पिङ साइटलाई व्यवस्थित बनाउने उद्देश्यसहित विराटनगर-१६ स्थित दरैयामा स्थानान्तरण गरिएको हो ।

दरैयामा रहेको जग्गा महानगरपालिकाको आफ्नै स्वामित्वमा छ । ११ बिघा क्षेत्रफलमध्ये तत्कालका लागि दुई बिघामा घेराबेरा गरेर अस्थायी डम्पिङ साइट बनाइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

Advertisement

सो स्थानमा पुस १ गते मंगलबारबाट फोहोर थुपार्न थालिएको छ । अब ब्रम्हपुरामा फोहोर नलगिने दाहालले बताए । विराटनगरमा तीन क्षेत्र वर्गीकरण गरेर तीन वटा कम्पनीले फोहोर संकलन गर्दै आएका छन् । अब ब्रम्हपुराबासीसँगै छिमेकी पालिका बर्जुका स्थानीयलाई राहत मिल्ने देखिएको छ ।

‘ब्रम्हपुरामा अब फोहोर जम्मा हुँदैन । त्यहाँ सरसफाइ पनि हुन्छ’, दाहालले संगालोखबरसँग भने, ‘दरैयामा अस्थायी रूपमा डम्पिङ साइट निर्माण गरिएपनि व्यवस्थित हुन्छ । ब्रम्हपुराजस्तो हुँदैन ।’ अस्थायी डम्पिङ साइट निगरानीका लागि सिसी क्यामेरा पनि जडान गरिएको उनको भनाइ छ ।

अव्यवस्थित डम्पिङ साइटका कारण ब्रम्हपुराबासीको स्वास्थ्यसँगै दैनिक जीवनयापनमा पनि समस्या हुँदै आएको थियो । दुर्गन्ध, धुँवा र धुलोका बाबजुत पनि उनीहरू मौन बस्नुपर्ने अवस्था थियो । उनीहरू डरधम्की आउने भन्दै बोल्न समेत डराउने गर्थे ।

यस्तै डम्पिङ साइट वरिपरिको जमिनमा खेतीपाती गर्ने कृषकहरूलाई दुर्गन्धका कारण समस्या थियो । यति मात्र नभएर डम्पिङ साइटको बाटो भएर आवत-जावत गर्ने यात्रुहरू पनि समस्यामा पर्दै आएका थिए । दरैयामा एडीबीको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि बढिसकेको सरसफाइ शाखा प्रमुख दाहालले जानकारी दिए ।

अहिले फोहोर लैजान सुरु गरिएको स्थान नजिकै बस्ती नभएका कारण ब्रम्हपुरामा जस्तो समस्या नहुने उनको भनाइ छ । यस्तै अब योजना अघि बढेपछि डम्पिङ साइट व्यवस्थित हुने उनको भनाइ छ । विराटनगरमा दैनिक सय मेट्रिक टन फोहोर उत्पादन हुँदै आएको छ ।

विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ स्थानान्तरणको तयारी

विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!