मोहन ढकाल/संगालोखबर

विराटनगर । अचाक्ली गर्मी, सडकमा उड्ने धुलो अनि ‘डम्पिङ साइट’ बाट फैलिने दुर्गन्धले बृहस्पति शर्माको दैनिकीमा नराम्ररी असर पारेको छ । उनले वर्षौँदेखि यही समस्या खेप्दै आएका छन् । मौसम फेरिन्छ, सडकमा उड्ने धुलो कम होला तर अव्यवस्थित डम्पिङ साइटले निम्त्याएको समस्या बाह्रैमास उस्तै हुने गरेको उनी सुनाउँछन् । यो समस्या विराटनगर महानगरपालिकाको हो ।

Advertisement

विराटनगर कोशी प्रदेशको एकमात्र महानगरपालिका हो । त्यतिमात्र नभएर प्रदेश राजधानी पनि हो । यसै कारणले पनि लाग्न सक्छ, विराटनगर सबै हिसाबले अग्रपङ्तिमा छ । तर शर्माकै भनाइलाई आधारमान्दा पनि महानगरको अवस्था छर्लङ्ग हुन्छ ।

यहाँका बासिन्दा प्रदेश राजधानीमा भएर पनि ‘दुर्गम’ बस्तीको अनुभव गरिरहेका छन् । कोशी राजमार्गबाट पश्चिम लागेपछि महानगरको समग्र अवस्था बुझ्न सकिन्छ । राजमार्ग पश्चिमका स्थानीयले बेला–बेलामा महानगरमा बसेर पनि महानगरको आभास गर्न नसकेको बताउँदै आएका छन् । महानगरले राजमार्ग पश्चिम क्षेत्रलाई विकासबाट पछि पारेको उनीहरूको तर्क आइरहन्छ ।

शर्मा विराटनगर–६ ब्रम्हपुराका स्थायी बासिन्दा हुन । महानगरको फोहोर ब्रम्हपुरास्थित केसलिया खोलाको छेउमा बिसर्जन गरिन्छ । अव्यवस्थित फोहोर व्यवस्थापनको कारण बर्षौँदेखि समस्या भोग्नुपरे पनि सम्बन्धित निकायले यसको समाधानमा कुनै चासो नदेखाएको शर्मा बताउँछन् ।

शर्मा भन्छन्, ‘यहाँ दुर्गन्धले बस्न नै समस्या भइसक्यो । महानगरपालिकाले यसको व्यवस्थापनमा कुनै चासो देखाएको छैन । दुर्गन्धका कारण गर्मीको समयमा थप समस्या हुन्छ । प्लाष्टिकजन्य फोहोर जलाएको बेला त धुवाँले पनि थप समस्या हुन्छ ।’

दुर्गन्धकै कारण झिँगा र लामखुट्टेले समेत सताउने गरेको उनको गुनासो छ । शर्मा त यो समस्या भोग्ने एक प्रतिनिधि पात्र मात्रै हुन । बर्षौँदेखि उक्त ठाउँका बासिन्दा यो समस्याबाट आजित भएका छन् ।

तर यो विषयमा धेरै त बोल्न समेत मान्दैनन् । यस विषयमा बोल्दा धम्की आउने डरले नबोलेको उनीहरू सुनाउँछन् । एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, ‘यहाँ धेरै बिकृति छ । केही व्यक्तिको फाइदाका लागि यहाँ हामीले चुप लाग्नुपर्ने अवस्था छ । सेप्टिक ट्याङ्की सफा गरेर ट्याङ्करहरूले सिधै यहीँ ल्याएर खन्याएर जान्छन् । फोहोर बिसर्जनको नाममा यहाँ धेरै बिकृति मौलाएको छ । यो अहिलेको मात्रै नभएर धेरै वर्षदेखिको समस्या हो ।’

लापरबाहीपूर्ण फोहोर व्यवस्थापनका कारण केसलिया खोलाको पानी पनि प्रदुषित भएको छ । जसका कारण पशुपंछीले समेत प्रदुषित पानी पिउनुपर्ने अवस्था छ । अव्यवस्थित डम्पिङ साइटका कारण छिमेकी बर्जु गाउँपालिकाका बासिन्दा पनि समस्यामा छन् ।

बर्जु–२ का धिरेश महतो पनि अव्यवस्थित डम्पिङ साइटका कारण समस्यामा छन् । डम्पिङ साइटबाट फैलिएको दुर्गन्धका कारण खानबस्न समेत समस्या भएको उनको पीडा छ । प्रदुषणका कारण स्वास्थ्यमा समेत असर गरिरहेको उनले बताए ।

सोही स्थानका रामनारायण ऋषिदेवको पीडा पनि उस्तै छ । उनी भन्छन्, ‘खाना खान बस्यो, झिँगाले हैरान पार्छ । दुर्गन्धले श्वास फेर्नै सकस हुन्छ ।’ यो लामो समयदेखिको समस्या भएपनि सम्बन्धित निकायले समाधानका लागि कुनै काम नगरेको उनले बताए । अव्यवस्थित डम्पिङ साइटका कारण कृषकहरू पनि समस्यामा छन् ।

सफारी चालक काशीराम राजवंशी कहिलेकाहीँ यात्रुलाई गन्तब्यसम्म पुर्याउन सोही स्थान हुँदै जान्छन् । उनी भन्छन्, ‘कहिलेकाहीँ यहाँ आउँदा त हामीलाई एकछिन बस्न गाह्रो हुन्छ । यहाँका बासिन्दा कसरी यति लामो समयदेखि कसरी बसिरहेका होलान् ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!