पहिले संविधान संशोधन गर्ने कि निर्वाचन घोषणा भन्ने लामो रस्साकस्सीपछि पछिल्लो समय सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ । निर्वाचनको मिति घोषणा नभई संशोधन प्रक्रिया अघि बढ्न नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा गर्ने शर्तमा संशोधन प्रक्रियामा लचिलो हुने संकेत देखाएको छ । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति घोषणा गरिए आफूहरुले आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले अहिलेकै अवस्थामा चुनावको मिति तोके आफूहरुले आन्दोलन घोषणा गर्ने बताए ।

‘सरकारले निर्वाचन घोषणाको तयारी गरेको छ । हामीले आन्दोलनको तयारी गरेका छौं,’ यादवले भने,‘निर्वाचन र आन्दोलनको घोषणा सँगै होलाजस्तो छ ।’ सहमतिका लागि सरकारसँग भएका प्रयास सकरात्मक नभएको उनले बताए।

‘सरकारको संविधान संशोधन नगर्ने नियत छ । सरकारसँग भएका वार्ता पनि गफगाफ जस्ता मात्रै भएका छन्’, उनले भने, ‘पछिल्ला दिनमा सहमतिका लागि सरकारसँग वार्ता पनि भएको छैन । एमालेसँग त वार्ताको सम्भावना नै छैन ।’

संविधान संशोधनका लागि एमाले तयार नहुने र निर्वाचनका लागि मोर्चा तयार नहुने अवस्थाका बीचमा सरकारले जेठका लागि फागुन ८ गतेभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

आशावादी छौं तर ढुक्क छैनौं: नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले फागुन ८ गतेसम्म सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेमा एमाले आशावादी रहेको बताएका छन् ।

‘निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ । हामी आशावादी छौं। तर ढुक्क हुने अवस्था भने छैन’, नेम्वाङले  भने,‘यदि निर्वाचनको मिति घोषणा भएन भने हामी जनतामा जान्छांै । निर्वाचनका लागि दबाब दिन जनतालाई आग्रह गर्छौं ।’

मधेशी मोर्चालाई सहमतिमा ल्याउन सरकारले सक्दो कोशिस गरेकाले अब कोशिस गर्न जरुरी नरहेको उनले बताए ।

‘तपाईँहरुले सक्ने जति प्रयास गर्नुभयो। यसको पनि एउटा सीमा हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु’, उनले भने,‘प्रधानमन्त्रीले पनि अब मिति घोषणा गर्छु । म उत्साहित भएको छु भन्नुभएको छ ।’
निर्वाचन आयोगले फागुन ८ गतेभित्र मिति घोषणा नभए निर्वाचन हुन नसक्ने भनिसकेकाले अब केही दिनमै मिति घोषणा गर्नुको विकल्प नरहेको उनले बताए ।

‘उहाँहरुमाथि दबाब मोर्चाको भन्दा पनि अरुकै छ। कसको छ भन्ने कुरा पनि सबैलाई थाहा छ’, नेम्वाङले भने,‘दबाब दिनेले नमानेसम्म निर्वाचनको मिति घोषणा नगर्ने हो भने कहिल्यै चुनाव हुँदैन ।’

नेम्वाङले एमाले नेता भेट्दा निर्वाचनको मिति घोषणा गर्छु भन्ने मोर्चाका नेता भेट्दा संविधान संशोधन विधेयकलाई पारित गरेर मात्रै निर्वाचन घोषणा गर्छु भन्ने दोहोरो प्रवृत्ति प्रधानमन्त्रीले देखाउन नहुने बताए ।
संविधान संशोधन विधेयकलाई संसदमा पेश हुन नदिने एमालेको अडान यथावत् रहेको नेम्वाङले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत संशोधन विधेयकको विरोध गरेकोले पारित नहुने संशोधन प्रस्तावको पछि लाग्न नहुने उनको तर्क छ । सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!