संगालोखबर


भोजपुर । भोजपुरको अरूण गाउँपालिका-५ स्थित विश्वप्रेमी माध्यमिक विद्यालयले शुभ दीपावली, छठ तथा विविध पर्वहरूको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुभकामना आदानप्रदान, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरेको छ ।

विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा रहेको प्रतिभा र कलालाई उजागर गर्ने, आपसमा खुसी साटासाट गर्ने र विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनका लागि साझा संकल्प गर्दै अगाडि बढ्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वबिन्द्र रसाइलीको सभाध्यक्षतामा भएको कार्यक्रममा अन्तरविद्यालय आधारभूत तहस्तरीय नृत्य प्रतियोगिता, माध्यमिक तहको आन्तरिक नृत्य प्रतियोगिता, प्रतिभा पहिचान, विज्ञान तथा प्रविधिको मिनी प्रदर्शनी, देउसीभैलो लगायतका विविध कार्यक्रमहरू समावेश थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बेदनाथ ढकालले विद्यालयको संक्षिप्त प्रगति प्रतिवेदनका साथै ‘विश्वप्रेमी माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्च’को अवधारणा तथा विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

समारोहका अवसरमा आयोजित अन्तरविद्यालय आधारभूत तहस्तरीय नृत्य प्रतियोगितामा पञ्चकन्या आधारभूत विद्यालय प्रथम, आयोजक विश्वप्रेमी माध्यमिक विद्यालय द्वितीय र विश्वविद्योदर आधारभूत विद्यालय तृतीय भएका छन् । विजेताहरूलाई नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी विद्यालयको आन्तरिक तहगत प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतिभा पहिचान अन्तर्गत आफ्ना कला प्रस्तुत गर्ने प्रतिभाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

विद्यार्थी, शिक्षक-कर्मचारी तथा अभिभावकमा भएका कला प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ढकालले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक सङ्घका पदाधिकारी, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, अक्षयकोषदाता, जग्गादाता, चन्दादाता लगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!