
विराटनगर । विराटनगरमा आजबाट अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान र प्रदेशका संवैधानिक अधिकार सुनिश्चितता गर्नका लागि मुख्यमन्त्री सम्मेलन गरिएको हो ।
सम्मेलनको उद्घाटन सहभागी मुख्यमन्क्रीहरूले संयुत्त रूपमा गरेका छन् । आजबाट सुरु भएको सम्मेलन भोलि समापन हुनेछ । कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको सम्मेलनमा विभिन्न विषयमा छलफल हुनेछ ।
सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सोमबार नै विराटनगर आइपुगेका थिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको स्थानमा प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी छन् । सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ता सहितको टोली सहभागी छ ।
प्रदेशहरूबीचका साझा समस्या पहिचान गरी समाधानका उपाय खोज्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

संगालोखबर 




















