
विराटनगर । मोरङको जहदा गाउँपालिकामा विवाहेत्तर प्रेम सम्बन्धका कारण एक पुरुषको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी श्रीमानकोे हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
हत्या हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन छन् । आइतबार राति करिब ९ बजे उनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्र संलग्न रहेको आरोप छ । रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको एसपी कटवालले बताए ।
प्रारम्भिक अनुसन्धानमा कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । श्रीमतीको अर्का पुरुषसँग प्रेम सम्बन्ध रहेको जानकारी पाएपछि बुधराम र उनीहरूबीच परिस्थिति बिग्रिएको र त्यसपछि दबैले योजना बनाएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै पक्राउ गरेको थियो । घटनापछि फरार भएकी कमलीलाई भने प्रहरीले सोमबार बिहान करिब साढे ७ बजे घरबाट एक किलोमिटर पश्चिमतर्फ रहेको खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले हत्यामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । मृतक सोरेनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । प्रहरीले विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या भएको प्रारम्भिक निष्कर्ष निकाले पनि घटनाका अन्य पक्षबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

संगालोखबर 






















