- राजेन्द्र रेग्मी

अमेरिकन फौजीकीरा अमेरिकाको रैथाने कीरा हो । यो कीरा सन् २०१६ मा अफ्रिकामा महामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा महामारीको रुपमा देखिएको यो कीरा नेपालमा पहिलो पटक सन् २०१९ मे मा नवलपुर जिल्लामा देखिएको थियो भने यस वर्ष नेपालको अधिकांस जिल्लाका मकैबालीमा मुख्य समस्याको रुपमा देखिएको छ ।

Advertisement

यसले मकै लगायत ८० भन्दा बढी अन्य विरुवामा असर गरेको पाइन्छ । यो कीरा गत हिँउदमा चितवनमा आलुबालीमा समेत मुख्य समस्याको रुपमा देखापरेको थियो । पुतली वर्गको नकटीडी (Noctuidae) परिवारमा पर्ने यो कीराले प्रायः राति सक्रिय भई विरुवाको विभिन्न भागमा असर पुर्याउँदछ । फौजीकीराको जीवनचक्रमा अण्डा, लार्भा, प्यूपा र वयस्क गरी चार वटा मुख्य चरण हुन्छन् । यी मध्ये लार्भा अवस्था मुख्य हानिकारक हुन्छ भने अन्य अवस्थाले विरुवामा खासै असर नगरेपनि कीराको जीवनचक्र पूरा गर्नका लागि सहयोग पुर्याउँछ ।

वयस्क भाले र पोथीको संसर्गपछि पोथी पुतलीले विरुवाको पात तथा अन्य भागमा १० देखि २०० वटा अण्डा थुप्रोमा पार्दछ । एउटा पोथी कीराले औषतमा करिब १५०० वटासम्म अण्डा पार्दछ । यो कीराले अण्डाहरु प्रायजस्तो थुप्रोमा तह–तह गरी पार्दछ जसलाई खैरो कपास जस्तो भुवाले ढाकेको पाइन्छ । यस कीराको अण्डाबाट ३ देखि ५ दिनमा विकसित लार्भाहरु निस्कन्छन् । लार्भाको विकास ६ चरणमा सकिन्छ । सामान्यतया, वयस्क लार्भाको लम्बाई ३.१ देखि ३.८ से.मी.सम्म हुन्छ, जसको रंग हल्का हरियोदेखि कालो हुन्छ । लार्भाको टाउकोमा उल्टो Y आकारको चिन्ह हुन्छ भने लार्भाको पेटको आठौं खण्डमा चारवटा थोप्ला वर्गाकार रुपमा रहेका हुन्छन् ।

लार्भाको पूरा विकास हुन १४ देखि ३० दिन लाग्दछ । यस कीराको लार्भा सुशुप्त अवस्थामा जाँदैन त्यसैले लार्भाहरु एकदमै चिसोमा (१० डिग्री सेल्सियस भन्दा कममा ) मर्दछन् । लार्भाको सुरुको अवस्थाले विरुवाको गुबोको कलिलो पातहरुको हरियो भाग खाई सेतो पत्र मात्र राख्दछ ।
विशेषगगरी लार्भाको पाँचौं र छैटौं चरण धेरै हानिकारक हुन्छ । यसले पातमा प्वाल बनाएर खाने, गुबो भित्र पसेर गुवोको पातहरु खाने र मकैको घोगामासमेत प्वाल पारेर जुँगा र कलिलो दाना खाइदिन्छ जसले गर्दा मकैको घोगामा दानासमेत रहदैन ।

विकसित लार्भा माटोमा २ देखि ८ से.मी. तल गई प्यूपा अवस्थामा जान्छ । प्यूपा अवस्था पूर्ण विकसित हुनका लागि गर्मीमा ८ देखि १० दिन लाग्दछ भने जाडो महिनामा १४ दिनसम्म लाग्दछ । त्यसैगरी वयस्क कीरा करिब १० दिन बाँच्दछ । वयस्क भाले पुतलीको अगाडिको पखेटाको किनारमा र टुप्पोमा त्रिकोण आकारका सेतो धब्बाहरु देखिन्छन् तर पोथी पुतलीको अगाडिको पखेटा पुरै खैरो हुन्छ । वयस्क पुतलीले एक रातमा करिब १०० किलोमिटरसम्मको दूरी पार गर्न सक्छ ।

यो कीरा धेरै खन्चुवा प्रकृतिको भएकोले यसको समयमै व्यवस्थापन गर्न नसके मकै उत्पादनमा धेरै नै गिरावट आउन सक्छ । विषादीको सुरक्षित प्रयोग गर्ने तर्फ अधिकांस किसानहरुको ध्यान गएको पाइदैन । सम्भव भएसम्म उपलब्धताको आधारमा जैविक विषादिको प्रयोग गर्नुपर्छ र अन्तिम विकल्पका रुपमा रासायनिक विषादीको प्रयोग गर्नुपर्छ । विषादीको सुरक्षित प्रयोग नहुँदा यसले मानव स्वाथ्य, जीव, जनावर र वातावरणमासमेत प्रतिकुल असर पार्ने हुनाले सकेसम्म कृषि विज्ञ, प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्नुपर्छ । यो कीराको एकीकृत व्यवस्थापनका लागि उल्लेखित तरिका अवलम्बन गरेमा यसबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उचित व्यवस्थापन गर्न सकिन्छ ।

  • खेतबारीको नियमित अवलोकन गर्ने र यदि उक्त कीराको अण्डाको थुप्रो वा लार्भा भेटिएमा मिचेर नष्ट गरिदिने ।
  • मकै लगाए लगतै एक हप्ताभित्र एक हेक्टरमा १० वटा फनेल (फल आर्मिवोर्म ल्युर) पासोको प्रयोग गरि फौजिकीराको भालेलाई जम्मा गरेर नष्ट गरिदिने र फल आर्मिवोर्म ल्युर एक महिनाको अन्तरमा फेर्नु पर्दछ ।
  • बारीको कान्लामा नेपियर ( Napier) घाँस र मकैबारीमा डेस्मोडीयम (Desmodium) घाँस लगाउँनाले यो कीराको व्यवस्थापन गर्न सकिन्छ ।
  • बजारमा पाइने निमजन्य विषादी एजाडिराक्टिन १५०० पिपिएम (Azadirachtin १५०० ppm) ५ मि.लि प्रति लिटर पानीका दरले उम्रेको १० दिन पश्चात १० दिनको अन्तरालमा ३ देखि ४ पटक प्रयोग गर्ने ।
  • ट्राईक्रोग्रामा चिलोनिस ( Trichogramma chilonis ) र टेलीनोमस स्पिसिस (Telonomus sps) प्रति हेक्टर १,००,००० का दरले १ हप्ताको अन्तरालमा ३ पटक प्रयोग गर्नाले पनि यो कीराको व्यवस्थापन गर्न सकिन्छ । तर यस परजीवी कीरा नेपालको बजारमा सजिलै उपलब्ध छैन ।
  • इमामेक्टिन बेन्जोएट ( Emamectin Benzoate) किङस्टार ५५ एस.जी ०.४ ग्राम प्रति लिटर पानीका दरले वा (Spinosad) ४५५ एस. सी ०.३ मि.लि प्रति लिटर पानीका दरले वा स्पाइनेटोराम (Spinetoram) ११.७ एस. सी ०.५ मि.लि प्रति लिटर पानीका दरले वा क्लोरानट्रानिलीप्रोल (Chlorantraniliprole) १८.५ एस. सी ०.३ मि.लि प्रति लिटर पानीका दरले बिरुवाको गुबो भिज्ने गरि प्रयोग गर्दा प्रभावकारी पाईएको छ ।

लेखक राजेन्द्र रेग्मी चितवनको रामपुरस्थित कृषि तथा बन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक हुन् । पहिलो पटक कृषि डेलीमा छापिएको यो लेख कृषि डेली र लेखक रेग्मीको अनुमतिमा संगालोखबरले प्रकाशन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!