वैज्ञानिकहरुले एक विशाल क्वान्टम कम्प्युटर तयार गर्नका लागि ब्लुप्रिन्ट तयार गरेका छन् । यसले कम्प्युटिंगको दुनियामा क्रान्ति ल्याउने विश्वास गरिएको छ । विद्यमान क्वान्टम कम्प्युटरहरुको तुलनामा उक्त लार्ज स्केल क्वान्टम कम्प्युटरको क्षमता निकै विशाल हुनेछ ।

वैज्ञानिकहरुका अनुसार शक्तिशाली मेसिन निर्माण गर्नमा भोगिरहेको समस्या उनीहरुले समाधान गर्न सफल भएका छन् । पछिल्लोपटक डिजाइन गरिएको क्वान्टम कम्प्युटर यति सुक्ष्म स्तरमा काम गर्नसक्छ की त्यहाँ एउटा परमाणु नै एकै समयमा दुई ठाउँमा रहन सक्दछ । एउटा पूर्णरुपको क्वान्टम कम्प्युटरको प्रोटोटाइप तयार भैरहेको वैज्ञानिकहरुको भनाई छ ।

Advertisement

प्राध्यापक विनफ्राइड हेनसिंगर ससेक्स युनिभर्सिटीका क्वान्टम टेक्नोलोजी ग्रुपका प्रमुख हुन् र यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् । यो क्वान्टम कम्प्युटरको प्रयोगबाट जिन्दगी पूर्णरुपमा बदलिनेछ, उनी भन्छन्, हामीले सपनामा पनि कल्पना नगरेका कामहरु यो कम्प्युटरबाट गर्न सकिनेछ । यसअघि पनि क्वान्टम कम्प्युटरहरु तयार गरिएका भएपनि ती सबै कुनै सिद्धान्तको परीक्षणका लागि मात्र प्रयोग भएका थिए ।

विद्यमान क्वान्टम कम्प्युटरको एउटा समस्या के भने ती कम्प्युटरमा हरेक परमाणुमा लेजरलाई फोकस गर्नुपर्दछ । कम्प्युटर जति ठूलो हुन्छ, लेजरको संख्या पनि बढ्दछ र यसले गल्ती हुने सम्भावना पनि बढि हुन्छ । तर हेनसिंगरको टोलीले परमाणुको अनुगमनका लागि फरक प्रविधि अपनाएको छ । उनीहरुले एक माइक्रोवेब फिल्ड तथा विद्युतको मद्धतले काम गर्ने आयोन ट्रयाप डिभाइस बनाएका छन् । यसबाट कम्प्युटिंगको स्केल बढाउन सकिन्छ ।

आगामी दुई वर्षभित्रमा यो क्रान्तिकारी क्वान्टम कम्प्युटरको प्रोटोटाइप अर्थात् सुरुवाती वर्किङ मोडेल तयार गरिने उनले बताएका छन् । जसमा यो ब्लुपि्रन्टको सम्पूर्ण प्रविधिको प्रयोग गरिएको हुनेछ । यद्यपि यो कम्प्युटर प्रविधिको निर्माण निकै महंगो हुने र अरबौँ रुपैयाँ लाग्नसक्ने हेनसिंगरले बताएका छन् ।

साइन्स एडभान्सेज जर्नलमा छापिएको शोध रिपोर्टमा वैज्ञानिकहरुले यो कम्प्युटर बनाउने अझै धेरै समय लाग्ने बताएका छन् । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!