
विराटनगर । विराटनगरको अर्किड कलेजमा ‘खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी कार्यशाला’ भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक प्रयोगात्मक सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गराउने उद्देश्यले दुईदिने कार्यशाला गरिएको हो ।
कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरू सहभागि कार्यशालामा टेलिस्कोप ह्यान्डलिङ, सूर्य अवलोकन, स्टेलारियम एप्लिकेशनमार्फत खगोलीय अध्ययन, रोबोटिक्स तथा ड्रोन, प्लानेट ट्रान्जिट फोटोमेट्री लगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको छ ।
कार्यशालाका क्रममा विद्यार्थीहरूले टेलिस्कोपको प्रयोग तथा सञ्चालनसम्बन्धी जानकारी लिनुका साथै टेलिस्कोपमार्फत सूर्यको अवलोकन गरेका थिए । त्यस्तै, स्टेलारियम एप्लिकेसनको प्रयोग गरी विभिन्न खगोलीय पिण्ड तथा आकाशीय घटनाबारे अध्ययन समेत गरेका छन् ।
रोबोटिक्स तथा ड्रोनसम्बन्धी सत्रमा विद्यार्थीहरूले प्रविधिको निर्माण, सञ्चालन र प्रयोगका आधारभूत पक्षबारे जानकारी लिएका थिए । कार्यक्रममा अर्किड कलेजका प्राचार्य मनिष भट्टराई, अध्यक्ष अमित ढकाल र शिक्षक-कर्मचारी सहभागि थिए ।
यस प्रकारका प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको वास्तविक र वैज्ञानिक सिकाइसँग जोड्दै उनीहरूमा अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने प्राचार्य भट्टराईले बताए ।

संगालोखबर 

















