मोहन ढकाल/संगालोखबर


सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी सफारी चलाउँथे । उनी धामीझाँक्रीको काम पनि गर्दै आएका थिए । उनको हत्याको योजना बनाउने राजकिशोर र नन्दकिशोर साहको घरमा चौधरीलाई झारफुकका लागि बोलाउने गरिएको थियो ।

उनै चौधरीले ‘तन्त्रमन्त्र’ लगाएर परिवारका सदस्य बिरामी बनाएर दुःख दिएको भन्दै साह दाजुभाइले ‘सुपारी’ दिएर हत्या गर्न लगाएको खुलेको छ । उनीहरूले साढे ६ लाख रुपैयाँको सुपारी दिएर चौधरीको हत्या गराएको भनेपनि बढी रकम दिएको हुनसक्ने प्रहरी श्रोतको भनाइ छ ।

Advertisement

‘कुनै व्यक्तिको हत्या गर्नको लागि साढे ६ लाखको सुपारीले मात्रै हुँदैन भन्ने हाम्रो धारणा छ’, प्रहरी श्रोतले भन्यो, ‘अनुसन्धान जारी छ । यो भन्दा धेरै रकम दिएको हुनुपर्छ । अनुसन्धान जारी छ ।’

घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता पाइएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनीहरूको खोजी भइरहेको छ ।

‘६÷७ वर्षअगाडि देखिनै मृतक चौधरीले झारफुक गर्ने गरेको पाइएको छ’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘तर उनैले तन्त्रमन्त्र लगाएर परिवारका सदस्यलाई बिरामी बनाएको भनेर हत्या गरेको देखिन्छ ।’ झारफुक गर्दा पनि परिवारका सदस्य निको पार्न नसकेको भन्दै साह दाजुभाइसँग चौधरीको मनमुटाव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

साह दाजुभाइको घरका परिवारका सदस्य बिरामी भइरहने भएकाले चौधरी झारफुकका लागि गइरहने गरेको खुलेको छ । ‘केही वर्षअघि देखिनै उनीहरूबीचमा मनमुटाव भएको जस्तो देखिन्छ’, प्रहरी श्रोतले भन्यो, ‘चौधरीले पनि तिमीहरूको परिवारलाई टुनामुना लगाइदिन्छु जस्ता कुराहरू भन्ने गरेको पाइयो ।’

परिवारका सदस्य बिरामी भइरहने भएपछि उसैकै कारणले यस्तो भएको भन्दै उनीहरूले चौधरीको हत्या नै गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । ‘अन्धविश्वासका कारणले घटना घटेको छ’, डीएसपी खड्काले भने, ‘दाजुभाइको मनमा यो मान्छेले हामीलाई दुःख दियो । यसलाई निध्याउनै पर्छ भन्ने भएपछि घटना घटेको खुलेको छ ।’

प्रहरीका अनुसार दुई पक्षबीच पहिला पनि पटक-पटक छलफल हुनेगरेको थियो । उनीहरूले एकअर्काप्रति आरोप नलगाउने भनेर कागज समेत गरेको खुलेको प्रहरीको भनाइ छ । ‘अन्धविश्वासका कारण परिवारमा शान्ति हुन्छ भनेर पैसा खर्च गरेर नै हत्याको योजना बनाए’, प्रहरी श्रोतले भन्यो, ‘त्यसपछि उनीहरूले सुटरको व्यवस्था गरे । त्यसमा ठूलो लिंक छ ।’

पक्राउ परेका व्यक्तिहरू यो भन्दा पहिला पनि पटक-पटक आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । ‘पक्राउ परेका व्यक्तिहरूको अगाडिको ‘हिष्ट्री’ पनि त्यस्तै छ’, डीएसपी खड्काले भने, ‘गाँजा तस्करी देखि लुटपाटमा संलग्न छन् । जेलबाट छुटेका व्यक्ति पनि छन् ।’ पक्राउ परेका ७ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा १२ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सफारीका चालक चौधरीको असोज २५ गते साँझ रामधुनी नगरपालिका-२ स्थित शिवनगर–झम्का जाने नहरको भित्री सडक खण्डमा गोली प्रहार भएको थियो । बायाँ छातीमा गोली लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

सुनसरीको रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गर्ने सात जना पक्राउ

सुनसरीमा सीटी सफारी चालकको हत्या

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!