संगालोखबर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ मा प्रहरीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । गोली लागेर दुई जना कारोबारी घाइते भएका छन् । खैरो हिराइन र पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

भारतको अररियाबाट आउँदै गरेका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीले खानतलासी गर्न खोज्दा लागूऔषध कारोबारीले पेस्तोल ताकेपछि गोली चलाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार लागूऔषध कारोबारीलाई रोकेर चेकजाँच गर्न खोज्दा उनीहरूले पेस्तोल निकालेर ताकेपछि प्रहरीले ५ राउन्ड हवाई फायर गर्यो । तरपनि, पेस्तोल ताकेर फाइरिङको प्रयास गरेपछि दुई जनामाथि गोली प्रहार गरिएको डीएसपी मिश्रले बताए ।

गोली प्रहारबाट भारतको अररियाका २२ वर्षीय दीपक कुमार बोसाक र ४० वर्षीय पुरन कुमार बोसाक घाइते भएका छन् । उनीहरु दुवै जनाको घुँडामुनि गोली लागेको छ । उनीहरूको रतुवामाईस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । सो क्रममा प्रहरीले रतुवामाई १ का ३५ वर्षीय योगेन्द्र ठाकुरलाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट ५०० ग्राम खैरो हिरोइन र १ थान पेस्तोल बरामद भएको छ । दुई वटा मोटरसाइकल र तीन वटा मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले भारतबाट नेपालमा लागूऔषध भित्र्याउँने काम गर्दै आएको प्रहरीको दावी छ ।

लामो समययता सीमा नाकादेखि काठमाडौँ उपत्यकासम्म निगरानी गरेर अन्ततः उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!