
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-८ का रामकृष्ण चेपाङ मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका छन् । चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमानाको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो ।
यही कठिन परिस्थितिमा नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ । पार्टीको तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा. शर्मा मकवानपुर पुगेका बेला रामकृष्णसँग भेट भयो ।
कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई आईटी विषयमा उच्च शिक्षा पढाउन नसक्ने आफ्नो बाध्यता सुनाए । उनको कुरा सुनेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर पढाउने जिम्मेवारी लिए ।
‘डा. शर्मा काठमाडौंबाट मकवानपुर आउनुभएको रहेछ । उहाँलाई भेट्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो । बल्ल भेट्ने मौका जुर्यो’, रामकृष्णले भने, ‘म गरिब परिवारको मान्छे हुँ । छोरीलाई आईटी पढाउने अवस्था थिएन । उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो ।’
शर्माले रामकृष्ण र सीमानालाई प्रत्यक्ष भेटेरै काठमाडौंमा आईटी तथा एआई विषयमा स्नातक तहको अध्ययन गर्ने व्यवस्था मिलाउने जानकारी दिए । टेक्सास कलेजमा अध्ययनको अवसर जुटाइदिने बताउँदै उनले भने, ‘सीमाना, हामी तपाईँलाई काठमाडौं लिएर जाँदैछौँ । टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ । त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ । तपाईँले आईटी र एआईमा स्नातक गर्नुहुन्छ ।’
सीमानाको पढाइको व्यवस्था मिलाउने प्रतिबद्धतासँगै शर्माले उनलाई आत्मनिर्भर बन्ने बाटोसमेत देखाएका छन् । उनका अनुसार टेक्सास कलेजमा पूर्णछात्रवृत्तिको व्यवस्था गरिनेछ । करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था मिलाउने उनले बताए ।
पढाइसँगै काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने जिम्मेवारी पनि शर्माले लिएका छन् । ‘चार वर्षमा तपाईँ आईटीको विशेषज्ञ बन्नुहुन्छ । अब जागिर खाँदै पढ्ने है त’, शर्माले सीमानालाई हौसला दिँदै भने, ‘आईटी पढ्ने र स्नातकोत्तर गर्ने अनि आफूजस्तै आर्थिक कठिनाइमा रहेका बालबालिकाको भविष्य उज्यालो बनाउने ।’
उनले आफ्नो भविष्य निर्माणसँगै अरू बालबालिकाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने सोच राख्न सीमानालाई सुझाए । मिर्गौला प्रत्यारोपणपछि आफ्नै उपचार र परिवारको जिम्मेवारी सम्हालिरहेका रामकृष्णका लागि छोरीको पढाइ र रोजगारीको व्यवस्था हुने खबर ठूलो राहत बनेको छ । आर्थिक बाध्यताले सीमित बनाएको सीमानाको सपनाले अब काठमाडौंमा नयाँ अवसर पाउने भएको छ ।
स्वास्थ्य र शिक्षालाई सामाजिक सेवासँग जोड्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित परिवारका एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराएर चिकित्सक तथा स्वास्थ्य प्राविधिक बन्न सहयोग गरेको बताइएको छ ।
सीमान्तकृत सन्थाल समुदायका दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा पनि उनको सहयोगमा अध्ययन गरेर चिकित्सक बनेका हुन् ।

संगालोखबर 
























