
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा १० देखि ५० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार भोक्राहाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले अस्पतालमा उपलब्ध सेवाहरूमा विशेष छुट पाउने भएका हुन् ।
कात्तिक ११ गते भोक्राहा नरसिंह गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष अजमल अख्तर आजाद र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनका तर्फबाट सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
स्थानीय तहसँग भएको यो सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि लागू हुनेछ भने आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि अन्य स्थानीय तहमा पनि उपचार सेवामा सहजीकरण गर्ने सम्झौता भएको थियो ।
सम्झौताअनुसार अस्पतालमा उपलब्ध हुने बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवाहरूमा छुट हुनेछ ।
मोरङको कटहरी गाउँपालिका-२, हल्दीबारीस्थित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी तथा ट्रमा केयर, आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयू लगायतका अत्याधुनिक स्वास्थ्य सेवा सञ्चालनमा छन् ।
अस्पतालले अत्याधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत विभिन्न प्रकारका जटिल शल्यक्रिया तथा विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

संगालोखबर 
























