
विराटनगर । सुनसरीमा गोली हानेर सीटी सफारी चालकको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ झुम्काका ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, सोही स्थानका ४० वर्षीय नन्दकिशोर साह र सप्तरीको राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह छन् ।
यस्तै राजविराज-९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज-५ का २५ वर्षीय मिथलेश यादव छन् ।
प्र १-०२-००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको असोज २५ गते साँझ रामधुनी नगरपालिका-२ स्थित शिवनगर-झम्का जाने नहरको भित्री सडक खण्डमा हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरू गोली हानेर फरार भएका थिए ।
बायाँ छातीमा गोली लागेको र शरीरबाट अत्यधिक रगत बगेको घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा १२ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

संगालोखबर 













