
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ राम्चेडाँडाका मोहन थापा केही वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्किए । करिब एक दशक दुवैमा बिताएका थापा घर फर्किएर कृषि पेशामा लागे । अहिले उनै थापाले केहीलाई रोजगारी समेत दिएका छन् ।
दुई वर्षअघि तीन रोपनी क्षेत्रफलबाट व्यवसायिक अकबरे खोर्सानी खेती सुरु गरेका थापाले अहिले ९ रोपनीमा खोर्सानी लगाएका छन् । भदौ अन्तिम साताबाट टिप्न सुरु गरिएको अकबरे खोर्सानी पुषसम्म टिप्ने गरिन्छ ।
महिनामा करिब ८ देखि ९ पटकसम्म टिप्ने र बिक्री गर्ने गरिएको थापाले बताए । एक पटकमा न्यूनतम् १ सय देखि १५० किलोसम्म खोर्सानी टिप्ने गरेको उनले सुनाए ।

अकबरे खोर्सानी न्यूनतम् २५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको उनले बताए । सहज सडक सञ्जालका कारण व्यापारीहरू घरमै खोर्सानी लिन आउने गरेका छन् । उत्पादन राम्रो भएको समयमा मूल्य कम पाउँदा समस्या हुने गरेको उनको गुनासो छ ।
यसका लागि सम्बन्धित निकायले विशेष भूमिका खेलेर सहजीकरण गरिदिनुपर्ने उनको माग छ । विदेशमा गर्ने मेहनत आफ्नै ठाउँमा गरौँ भन्ने सोचसहित खोर्सानी खेती सुरु गरेको उनले बताए । उनले स्थानीय चार जनालाई रोजगारी समेत दिएका छन् ।
उनले अकबरे खोर्सानी खेतीबाट वार्षिक ९ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यहाँ उत्पादन भएको अकबरे खोर्सानी स्थानीय बजारदेखि धरान, विराटनगर, झापा, काठमाडौं लगायत स्थानमा पुग्ने गरेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 
























