संगालोखबर

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष, एक जिल्ला समन्वय समिति प्रमुख र सात वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त रहेका पदमा उम्मेदवारको टुङ्गो लगाउन दलहरू जुटिरहेका छन् ।

Advertisement

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेपाली काङ्ग्रेसबाट निर्वाचित पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । उक्त वडामा एमालेबाट दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका-८ मा उपनिर्वाचन हुँदैछ ।

उक्त वडामा काङ्ग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । सुनसरीको गढी गाउँपालिका-६ मा पनि उपनिर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगडको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपीकृष्ण कार्कीको मृत्यु भएपछि उपनिर्वाचन हुँदैछ । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा पनि वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।

काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उदयपुरको बेलका नगरपालिका-९ मा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष पदमबहादुर खड्काको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिम हङकङ गएपछि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति ओखलढुङ्गाको रिक्त रहेको प्रमुखका लागि समेत निर्वाचन हुँदैछ ।

नेपाली काङ्ग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको निधन भएपछि निर्वाचन हुन लागेको हो । रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!