संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरेर मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

Advertisement

नेपालबाट बङ्गलादेशमा दुग्धजन्य पदार्थ निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् । दुग्धजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन राजदूत भण्डारीसमक्ष मुख्यमन्त्री कार्कीले आग्रह गरेका हुन् । फोन संवादमा राजदूत भण्डारीले बङ्गलादेशको ‘कमर्सियल कमिटी’ मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादकसहितको टोली बंगलादेश गएर भएपनि निकासीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

चर्को भन्सारका कारण दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’ को अवस्था सिर्जना भएको छ । यहाँ उत्पादित घ्यू, नौनी बिग्रिने अवस्थामा पुगेको छ । प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दूध डेरी सञ्चालकहरूले पछिल्लो समय किसानसँग दूध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दूधको भुक्तानी दिन सकेका छैनन् । किसानले दूधको भुक्तानी नपाउँदा बिचल्लीमा परेका छन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे । उनले एकातिर किसानले दूध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरूलाई गत जेठ महिनादेखि नै दूधको भुक्तानी दिन नसकेको सुनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!