काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको छ ।

Advertisement

प्रत्यारोपण गरिएको मिर्गौलामा गम्भीर समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत खड्काको निधन भएसँगै उनका समर्थक र जिल्लाबासी स्तब्ध भएका छन् ।

जीवनको अन्तिम समयमा उपचारका लागि आर्थिक अभावसमेत भएपछि कार्यकर्ताले रकम संकलन गरिरहेका बेला उनको निधन भएको हो । उनलाई दिल्लीस्थित नेपाली दूतावासको पलहमा एपोलोबाट एम्स अस्पतालमा सार्ने तयारी भइरहेका बेला निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।

खुमबहादुरकी छोरी पुनमले पनि बाबुको निधन भएको पु्ष्टि गरिसकेकी छन् । नेपाली राजनीतिका चतुर खेलाडी खुमबहादुर राजनीतिमा सक्रिय भइरहेकै बेला बिदा भएका छन् ।

भ्रष्टाचारले डुबाएको राजनीति

खुमबहादुर २०५९ सालमा भ्रष्टाचारको मुद्दा नलागुन्जेल कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि चुनौती दिने नेतामा गनिन्थे । २०५९ सालसम्म उनको राजनीतिक जीवनयात्रा सधैँ उकालोमा थियो, उनले कहिल्यै ओरालो यात्रा गर्नुपरेन ।

तर जब २०५९ सालमा उनीमाथि भ्रष्टाचारको मुद्दा लाग्यो, त्यही बेलादेखि उनको जीवनले ओरालो यात्रा सुरु गर्‍यो । विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता हुनुअघिसम्म उनलाई कांग्रेसदेखि अन्य दलका नेता कार्यकर्ताले पनि मान्थे ।

पटक पटक गृहमन्त्री हुँदा उनले प्रहरीदेखि अन्य सुरक्षानिकायमा आफूनिकट सयौँ सर्वसाधरणलाई भर्ना गराएका थिए । भ्रष्टाचारको मुद्दा लाग्नुअघि लोकप्रियताको शिखरमा रहेका उनी त्यसपछि रातारात भिलेन बन्न पुगे ।

भ्रष्टाचार मुद्दा लागेसँगै उनको गुणागान गाउनेले पनि बाइबाइ गरे । पार्टीले भूमिका नदिए पनि पनि उनी निरन्तर सक्रिय रहे । दोस्रो जनआन्दोलनका क्रममा पार्टीले बेवास्ता गरे पनि उनी आफ्ना समर्थकलाई लिएर जुलुससहित रत्नपार्क र सुन्धारा घुमिरहन्थे ।

विशेषको सफाइ, सर्वोच्चबाट दोषी

भ्रष्टाचार नगरे पनि आफूलाई फसाइएको दाबी उनले पटक पटक गरिरहे । २०६३ सालमा विशेषले अदालतले उनलाई सफा पनि दियो । तर मुद्दाको अन्तिम किनारा लगाउने निकाय सर्वोच्च अदालत बाँकी नै थियो ।

तर, सर्वोच्च अदालतले खड्कालाई ३० साउन २०६८ मा भ्रष्टाचारी ठहर गरेर जेल पठाएपछि उनको राजनीतिक जीवनमा कालो धब्बा नै लाग्यो । पाँच वर्ष लामो समयदेखि विचाराधीन मुद्दामा लामो बहसपछि सर्वोच्चले खड्कालाई भ्रष्टाचार ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो तथा त्यतिनै जरिवाना गरेको थियो ।

तत्कालीन न्यायाधीशहरु कल्याण श्रेष्ठ र को वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको मुद्दामा दोषी मान्दै खड्कालाई भ्रष्टाचारी ठहर गरेको थियो ।

देशमा बहुदलीय परिवर्तनसँगै २०४८ सालदेखि खड्‍का पटकपटक मन्त्री भएका थिए । खड्काले सार्वजनिक पदमा रहँदा शक्तिको दुरुपयोग गरी दुई करोड ३६ लाख अवैध सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो ।

तर यो मुद्दामा विशेष अदालतका तत्कालीन न्यायाधीश कोमलनाथ शर्मा, भूपध्वज अधिकारी र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले खड्काले कमाएको मध्ये १२ लाख रुपैयाँको मात्रै स्रोत नखुलेको भन्दै २०६३ कात्तिक २९ गते सफाइ दिएको थियो ।

तर त्यसविरुद्ध अख्तियार सर्वोच्चमा पुगेको थियो । सर्वोच्चले अख्तियारको मागदाबीलाई स्वीकार्दै खड्कालाई भ्रष्टाचारी ठहर गरेसँगै सदरखोरमा थुनिएका थिए । अख्तियारले २०६३ चैतमा पुनरावेदन गरेको मुद्दामा सर्वोच्चको फैसलापछि खुमबहादुरको सं‌सदीय राजनीति टुंगिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!