विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला र विराटनगर-४ की शर्मिला कोइराला घाइते भएका छन् ।
यस्तै शिवसताक्षी-८ झिलझिलेका टंक शिवाकोटी, सोही स्थानका आन्सा फियादेन, सुमना लिम्बु, बिर्तामोड-६ का पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिका-६ का शान्तिराम खतिवडा घाइते भएका छन् ।
‘घाइतेहरूको अवस्था सामान्य छ । कुनै मानवीय क्षति भएको छैन’, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दले संगालोखबरसँग भने, ‘उनीहरूको बिर्तामोड स्थित बीएण्डसी अस्पताल उपचार भइरहेको छ ।’
चालक झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । चालकको भनाई उदृत गर्दै उनले भने, ‘बाक्लो हुस्सुका कारण बाटो क्लियर नदेखिएर दुर्घटना भयो ।’