सुनसरी । सुनसरीको इटहरीमा राजावादीको नाममा आज बम आतङ्क मच्चाइएको छ । इटहरी उपमहानगरपालिका कार्यालय, भोटेपुल र वुढी खोला पुलमा बम राखेको भनेर आतङ्क मच्चाइएको हो ।
विभिन्न ठाउँमा बम राखेको भन्दै प्रहरी कार्यालयको नम्बरमा म्यासेज आएको थियो । सोही बमोजिम इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । त्यहाँ कालो झोलाभित्र प्रेसर कुकरमा तार बेरेर राखेको भेटिएको थियो ।
सोही झोलामा राष्ट्रिय सुरक्षा दल नेपालको पर्चा भेटिएको छ । पर्चामा संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, सङ्घीयता खारेज गरी बलियो स्थानीय तह बनाउनुपर्ने र हिन्दु, बुद्ध किराँतसहित वैदिक सनातन हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने माग उल्लेख छ । ४० दिनभित्र सरकारले माग सम्बोधन नगरे सशस्त्र सङ्घर्ष गर्ने चेतावनी पनि दिइएको छ ।
यता, बम रहेको भनिएको भोटेपुलमा केही फेला परेको छैन । बुढी खोला पुल मुनी पुराना कपडा रहेको झोला मात्र भेटिएको छ । बम आतङ्कका कारण इटहरीसहित आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बम आतङ्क मच्चाउनेलाई प्रहरीले खोजी गरिरहेको छ ।