मोहन ढकाल/संगालोखबर
मृतक शिक्षक र घटनामा प्रयोग भएको भरुवा बन्दुक

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-१ स्थित कालिका आधारभुत विद्यालयका प्रधानाध्यापकको हत्या आवेगमा आएर गरेको अभियुक्तले बयान दिएका छन् । बिहीबार राति करिब ७ बजे ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको भरुवा बन्दुक प्रहार गरेर हत्या भएको थियो ।

संखुवासभाको सिलीचोङ गाउँपालिकाको याफु घर भएका राई सोही विद्यालयको आवासमा बस्थे । उक्त दिन खाना खाइसकेपछि भाँडा धुन बाहिर निस्किएका बेला राईमाथि बन्दुक प्रहार भएको थियो ।

प्रधानाध्यापक राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार बिहान मकालु गाउँपालिका-१ सिउँडीबारीका ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरिसकेको छ ।

‘पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरिसकेका छन्’, संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर धनबहादुर राजवंशीले संगालोखबरसँग भने, ‘बयानका क्रममा आवेगमा आएर हत्या गरेको बताएका छन् ।’

प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका पत्न कुलुङकी श्रीमती पनि सोही विद्यालयकी बालविकास शिक्षिका हुन् । उनी पनि कहिलेकाँही ढिलो हुँदा सोही विद्यालयको आवासमा बस्ने गरेकी थिइन् ।

प्रहरीका अनुसार हत्या भएका शिक्षककी श्रीमती वैदेशिक रोजगारीमा थिइन् । शिक्षक र श्रीमतीमाथि शंका गरेर अभियुक्तले भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ’, उनले थपे, ‘केही कारण त होला । अहिलेसम्म यकिन कारण स्पष्ट भइसकेको छैन । हत्या स्वीकारेका व्यक्तिकी श्रीमति पनि सोही विद्यालयमा पढाउनुहुँदो रहेछ । घटनाका विषयमा पनि सोही शिक्षिकाले खबर गर्नुभएको थियो ।’

शंकाका कारण घटना घटेको प्रहरीको अनुमान छ । ‘अभियुक्तले मेरो श्रीमतीसँग शिक्षक लागेको छ की भन्ने शंकाले घटना घटाएको हुनसक्छ’, प्रहरी स्रोतले भन्यो, ‘अभियुक्तको श्रीमती ढिलो हुँदा विद्यालयको आवास भवनमा कहिलेकाँही बस्नुहुँदो रहेछ । ढिलो हुँदा अरु पनि त्यहीँ बस्ने गर्नुभएको रहेछ ।’

पक्राउ परेका अभियुक्तमाथि प्रहरीले सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । हत्याको यकिन कारण पत्ता लाग्न बाँकी रहेको प्रहरीको भनाइ छ । अनुसन्धानपछि थप तथ्य खुल्ने इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।

संखुवासभामा शिक्षक हत्या प्रकरण : एक जना पक्राउ, भरुवा बन्दुक पनि बरामद

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!