
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-१ स्थित कालिका आधारभुत विद्यालयका शिक्षक नरकुबिर खम्बु राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकालु गाउँपालिका-१ सिउँडीबारीका अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राई छन् । उनलाई आज बिहान ११ बजे घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित पक्राउ गरिएको संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले संगालोखबरलाई जानकारी दिए ।
बिहीबार राति करिब ७ बजे संखुवासभाको सिलीचोङ गाउँपालिका याफु घर भएर सोही विद्यालयमा बस्दै आएका अन्दाजी ३६ वर्षीय शिक्षक राई खाना खाइसकेपछि भाँडा धुन बाहिर निस्किएका थिए ।
सो क्रममा अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा शिक्षक राई ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेकी थिइन् ।
मृतकको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट देखिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्याको कारण खुल्न बाँकी छ ।

संगालोखबर 














