मोहन ढकाल/संगालोखबर

विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको खुलेको छ । आरोपी सार्वजनिक गर्दै मोरङ प्रहरीले बलात्कारपछि अंशुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो ।

Advertisement

अंशुको हत्या आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई लेटाङ-२ फडानीस्थित आफ्नै घरबाट मंसिर १९ गते पक्राउ गरिएको मोरङ प्रहरीका एसपी कवित कटवालले जानकारी दिए ।

घटनाका सम्बन्धमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले पदमले अंशुलाई घाँस काट्न सहयोग गरिदिन भन्दै खेलिरहेको ठाउँबाट लिएर गएको जनाएको छ । असोज २१ गते दिउँसो साथीसँग स्कुल नजिकै खेलिरहेको अवस्थामा पदमले अंशुलाई फेला पार्छन् । उनकी साथीले पदमसँग पैसा मागेपछि पाँच रुपैयाँ दिँदै दिदीलाई खोज्न भन्दै पठाउँछन् ।

त्यसपछि उनले अंशुलाई घाँस काट्न सहयोग माग्छन् । ‘अंशुले हुन्छ भनेपछि पैदलै जंगलको मुखसम्म आउन भन्दै पदम साइकलमा गएको खुलेको छ’, मोरङका प्रहरी प्रमुख एसपी कटवालले भने, ‘उनी जंगलको मुखमा अंशुलाई पर्खिएर बसेका थिए । आइपुगेपछि साइकलको पछाडि अंशुलाई राखेर गएका थिए ।’

उनले त्यसपछि चार किलोमिटर जंगलभित्र लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको र हँसियाले घाँटी समेत काटिदिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी कटवालले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट घटना घटाउनुको कारण अंशुको परिवारसँगको पुरानो रिसइबी रहेको खुलेको प्रहरीको भनाइ छ । उनले ‘बदला’ लिने सुरले घटना घटाएको पाइएको प्रहरीले जनाएको छ ।

अंशुको शव फेला परेको ९ दिनपछि पदम गाउँ छाडेर भारत गएका थिए । एक्कासि भारत गएपछि प्रहरीले उनीमाथि शंका गर्दै निगरानी बढाएको थियो । भारत गएका उनलाई परिवार र जनप्रतिनिधिमार्फत नेपाल झिकाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी एक महिनाभन्दा बढी भारतमा बसेका थिए । पक्राउ परेका उनीविरुद्ध ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको एसपी कटवालले जानकारी दिए ।

असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी-चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएर क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यतिमात्र नभएर शव पनि सडेर दुर्गन्धित भइसकेको थियो । अंशुका बुबा नवीनले घटनास्थलमा फेला परेको चप्पल, कालो हाफपाइन्ट र कालो घडीबाट शवको पहिचान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोली अनुसन्धानमा खटिएको थियो । यो घटना अनुसन्धान गर्न प्रहरीले लामो समय संघर्ष गर्नुपरेको थियो ।

अंशु गौतम मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? 

अंशु गौतम हत्या प्रकरण : ‘क्लु’ नभेटिँदा जटिल बन्दै अनुसन्धान

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!