
विराटनगर । मोरङको लेटाङ-२ स्थित बेलबारी-चिसाङ साझेदारी बनभित्र जिउ र टाउको अलग भएको अवस्थामा बालिकाको शव फेला परेको ६ दिन बितिसक्यो ।
लेटाङ-२ स्कुल चोक घर भएका नवीन गौतमकी कान्छी छोरी १३ वर्षीया अंशु गौतमको विभत्स अवस्थामा शुक्रबार जंगलभित्र शव फेला परेको थियो । असोज २१ गते साँझ ५ बजेदेखि बेपत्ता बालिका १८ दिनपछि मृत अवस्थामा भेटिएकी थिइन् ।
एकाएक अंशु बेपत्ता भएपछि अभिभावकले खोजीका लागि प्रहरी, जनप्रतिनिधिलगायत सरोकारवालालाई आग्रह गरेका थिए । उनको खोजी भइरहेपनि कतै फेला परेकी थिइनन् ।
शुक्रबार भने घाँस काट्न गएका स्थानीयले दुर्गन्धित अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेपनि अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन ।
‘अनुसन्धान भइरहेको छ । कसरी मृत्यु भयो भन्ने अहिले भन्न सक्ने अवस्था छैन’, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले संगालोखबरसँग भने, ‘बलात्कार भएको भन्ने पुष्टि गर्नलाई स्वावहरू चाहिन्छ । त्यो केही छैन ।’
कोही मान्छे अनुसन्धानमा ल्याएर उसले यस्तो-यस्तो कारणले हत्या गरेको भन्यो भने मात्रै ठ्याक्कै कारण भन्न सकिने उनको भनाइ छ । ‘हत्या भयो भन्दा, हत्या के कारणले गर्न पर्यो १३ वर्षकी बालिकाको’, उनले थपे, ‘अनुसन्धान जारी छ । अहिले यही कारण हो भन्ने अवस्था छैन ।’
अहिले मिडियामा आएका समाचारहरूलाई पुष्टि गर्ने आधार केही नभएको उनले बताए । ‘अहिले मिडियामा जसरी आएको छ, बलात्कारपछि हत्या भएको, लाश टुक्रा-टुक्रा पारेको भनेर । तर यी सबै कुराहरू भन्न सकिँदैन’, एसपी कटवालले थपे, ‘त्यहाँ जंगली जनावरहरू हुन्छन् । घना जंगलको बीचमा जनावरहरूले तानतुन गरेको पनि हुनसक्छ । जनावरले लुछालुछ गर्दा शरीर छुट्टिएको पनि हुनसक्ने भयो । अहिले ठ्याक्कै यही हो भनेर हामीले निष्कर्ष निकाल्न सकेका छैनौं ।’
उनले घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उल्लेख गरे । फरेन्सिक रिपोर्ट आएपछि थप कुराहरू खुल्ने उनको भनाइ छ ।

संगालोखबर 













