बन्छन् साध्य यही भनेर जनका रोजाइ संशाधन
पाएको सुख– हेतु बन्छ नचिने अज्ञानताले धन ।
यी मान्छे अभिमन्युतुल्य रणमा पुग्दारहेछन् घुसी
मान्छेले सुखका निमित्त निजको साटेछ मानूँ खुसी ।।

Advertisement

लैजालान् कटुता, विषाद, जडता, अज्ञानताले तल
लागेको छ घना भएर मनका आकाशमा बादल ।
होला देह सफा र सुग्धर भलै धोई नुहाइकन
फेरी वस्त्र जुहार भित्र मनको फेरिन्न कालोपन ।।

आफू मुन्तिरको धरातल छ के बिर्सन्छ बढ्दा कद
आफ्नाबाट लखेटिइ पर पुगी एक्लिन्छ चढ्दा मद ।
पन्छीझैँ नजिकिन्छ तान्छ मनले देखिन्छ चारो जता
घेरा भौतिक वस्तुको जब पर्यो खोसिन्छ उन्मुक्तता ।।

मान्छेले जसरी जहाँ जतिसुकै ल्याई थुपारोस् धन
पाई फेरि अतृप्त हुन्छ जनको यो हन्तकाली मन ।
माया–प्रेम शनैः शनैः कम भई बढ्दै गयो आरिस
जम्मा साधन गर्छ जत्ति उति नै एक्लो हुने मानिस ।।

सत्ता, शक्तिसमेत मान पदवी समृद्धि छाए पनि
मेला हो धरती मनुष्य रमिते बन्दै रमाए पनि ।
गर्नै पर्छ जँघार पार डरले खुट्टा कमाए पनि
रित्तोझैँ मनको भँडार रहने सर्वस्व पाए पनि ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!