
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ स्थित सलकपुरमा ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएकोमा चिकित्सकले १२ः१० बजे मृत घोषणा गरेका थिए ।
यस्तै मोटरसाइकल पछाडि सवार मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का १९ वर्षीय आशिष बिक र १८ वर्षीय हरिबहादुर बिक घाइते भएका छन् । उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रदेश १-०१-००१ ख ४३०३ नम्बरको ट्रकले को १० प ८१२८ नम्बरको मोटरसाइकल आज बिहान ११ः४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।
ट्रक चालक सुनसरीको दुहबी नगरपालिका-८ का २३ वर्षीय राकेश खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















