
काठमाडौं । काठमाडौंको इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका बिकेश राजवाहक र अरुण भुजेल छन् ।
वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड ईशान ज्वेलरीकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेकी थिइन् । त्यसपछि उनीहरू भागेका थिए ।
घटनाको अनुसन्धान र खोजतलासको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 




















