
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ का एक वृद्धलाई फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ डडेनीस्थित तमोर कोरिडोर सडक खण्डमा स्थानीय ६१ वर्षीय गुर्जासिंह राईमाथि आक्रमण भएको थियो ।
सामान्य विवादका क्रममा सोही गाउँपालिका वडा नम्बर ८ का १९ वर्षीय समिर मुदेल र २१ वर्षीय दल बहादुर मुदेलले फलामको पाइपले राईको टाउकोमा प्रहार गरेका थिए ।
आक्रमणपछि वृद्धलाई गम्भीर घाइते बनाई दुवै अभियुक्त घटनास्थलबाट फरार भएका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले फरार अभियुक्तहरूको खोजी गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका युवाहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत धनकुटाबाट ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । फलामको पाइप प्रहारबाट गम्भीर चोट लागेका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















