
विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै खुला पत्र लेखेका छन् । सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै बारम्बार प्रश्न गरिरहेका साम्पाङले खुला पत्र मार्फत विभिन्न प्रश्न गरेका छन् ।
साम्पाङले पत्रमा संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरेका छन् । उक्त पत्रमा सीमा सुरक्षा, सुकुम्बासी समस्या र देशको अर्थतन्त्रका विषयमा उनले गम्भीर प्रश्नहरू उठाएका छन् ।
नेपालको लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर वार्ता गरी सीमा जोगाउन माग गरेका छन् ।
सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरे। सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने उनले उल्लेख गरेका छन् ।
सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरू रोसी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ? भन्दै उनले प्रश्न गरेका छन् । यस्तै विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन् ।
राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनले उल्लेख गरेका छन् । बजेट निर्माण गर्दा सबै क्षेत्रका जनताका समस्यालाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी गराउनुपर्ने साम्पाङको माग छ ।
उनले पत्रमार्फत भनेका छन्, ‘लुकेर, भागेर समस्या समाधान हुन्छ ?, पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन ?’ उनले पत्रको अन्त्यमा भनेका छन्, ‘अहिलेलाई यत्ति, अरु बातमा क्रमशः…।’


संगालोखबर 




















