संगालोखबर


विराटनगर । इलामको सूर्याेदय नगरपालिका-१ गोर्खे बजारमा गर्भवती गाईको हत्या भएको छ  । स्थानीय दीपेश मोदी र उनकी पत्नी सुशीला अधिकारीले पालेको गाईको गोठमा हत्या भएको हो ।

आइतबार बिहान गाई दुहुन गोठमा पुगेका दीपेशले गाईको हत्या भएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । सो घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

गोठमा ४ वटा गाई भए पनि अन्य ३ गाई र २ बाछाबाछीलाई छोडेर एक माउ गाईको हत्या भएको बताइएको छ । मोदीका अनुसार गाईको घाँटीमा पाँच स्थानमा धारिलो हतियार प्रहार भएको छ भने टाउकोमा पनि गहिरो घाउ देखिएको छ ।

गौहत्याको खबरले स्थानीय त्रसित भएका छन् । स्थानीयले वडा कार्यालयदेखि सूर्याेदय नगरपालिकामा समेत खबर गरेका छन् । परम्परागत रूपमा गाईपालन गर्दै आएका मोदी परिवारले गाई मृत्युको जुठो बारिरहेका छन् ।

गाईको मृत्युमा हिन्दु संस्कार अनुसार १३ दिनसम्म काजकिरिया गर्ने चलन छ । सो परिवारले पनि १३ औँ दिनमा सुद्धाइँ कार्य गर्ने तयारी गरिएको बताइएको छ । मोदीले गत वर्ष मात्र सो गाई ७५ हजारमा खरिद गरेका थिए । साउन महिनामा ब्याउने गाईलाई निर्ममतापूर्वक हत्या गरिएको दीपेशको भनाइ छ ।

उनले गाईको हत्याको विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गरेका छन् । गौहत्याको अनुसन्धान तथा अभियुक्त खोजी कार्य भइरहेको इलाम प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!