संगालोखबर
फाइल तस्वीर

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहत कार्यका लागि विराटनगर महानगरपालिकाले ‘द्रुत्त प्रतिकार्य टोली’ बनाएको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा प्रतिकार्य टोली बनाइएको हो ।

टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल छन् । त्यस्तै, आर्थिक व्यवस्थापनमा सञ्जीवकुमार भट्टराई, आवास व्यवस्थापनमा कृष्ण भट्टराई, पशुपंछी व्यवस्थापनमा शुभनारायण यादव, स्वास्थ्य व्यवस्थापनमा डा. दिलीपकुमार यादव, पूर्वाधार व्यवस्थापनमा इन्जिनियर अर्जुन थापा छन् ।

Advertisement

यसैगरी, खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहने गरी प्रतिकार्य टोली गठन गरिएको मेयर नागेश कोइरालाले बताए ।

बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायतको व्यवस्थापनको सम्पूर्ण तयारी गर्नेछ । ‘प्रतिकार्य टोलीमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतज्यूसँग समन्वय गरी विपदका लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ,’ निर्णयमा भनिएको छ ।

यसअघि महानगरले मनसुनजन्य विपद व्यवस्थापन र न्यूनीकरणका लागि सरोकारवाला कार्यालय र संघसंस्थाका प्रतिनिधिलाई बोलाएर तयारी तीव्र पार्ने निर्णय गरिसकेको छ । विशेष गरी विराटनगरका वडा नम्बर ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् ।

महानगरले वडास्तरमा उद्धारपछि राख्नका लागि सामुदायिक भवन, विद्यालयसहितका सार्वजनिक स्थलहरुको पहिचान गरी तयारीसमेत गरेको छ । वडाध्यक्षको संयोकत्वमा वडास्तरमा विपद व्यवस्थापन समिति पनि रहने गर्दछ । उक्त समितिले वडास्तरमा हुने विपदको व्यवस्थापन गर्नेछ ।

वडास्तरमा अध्यक्ष वा अध्यक्षले तोकेको जनप्रतिनिधि संयोजक रहनेगरी सुरक्षा निकाय, रेडक्रस र युवा स्वयंसेवक प्रतिनिधि रहनेगरी लेखाजोखा टोलीसमेत गठन गरिसकिएको महानगरको विपद शाखाकी प्रमुख अनिता न्यौपानेले जानकारी दिइन् ।

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!