मोहन ढकाल/संगालोखबर


विराटनगर । रानी नाकामा स्वागतद्वार निर्माणको काम अलपत्र अवस्थामा छ । नेपाल प्रवेश गर्ने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको स्वागतद्वार लामो समयदेखि अलपत्र अवस्थामा परेको हो ।

२०७७ जेठ २७ गते सहरी विकास तथा भवन निर्माण कार्यालयले झापाको ह्याविडेट आशिषदीप जेवीसँग २०७९ असार १४ मा स्वागतद्वार निर्माणको काम सक्नेगरी सम्झौता गरेको थियो ।

Advertisement

तर त्यसयता निर्माणले गति लिन सकेन । विवादका कारण स्वागतद्वार समयमा निर्माण हुन नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कोशी प्रदेशले जनाएको छ ।

कार्यालयका अनुसार शिलान्यास गरेको स्थानमा भन्सार कार्यालयले निर्माण गर्न नदिएपछि समस्या आएको थियो । भन्सार कार्यालयले ‘प्रोटोकल’ को कारण देखाउँदै निर्माण गर्न लागिएको स्थानमा स्वागतद्वार बनाउन अवरोध गरेको थियो ।

पहिलो सम्झौताअनुसार समयमा काम हुन नसकेपछि दोस्रो पटक २०७९ असार १४ मा पुनः नयाँ सम्झौता भएर काम अघि बढेको सहरी विकास तथा भवन निर्माण कार्यालय कोशी प्रदेशका निमित्त कार्यालय प्रमुख सुरेन्द्रकुमार संवोले बताए ।

ह्याविडेट आशिषदीप जेवीसँगै २०८१ फागुन २५ मा स्वागतद्वार निर्माण सम्पन्न गर्नेगरी पुनः सम्झौता भएको उनले बताए ।

निर्माण गर्ने स्थान सारेपछि कामले गति लिएको उनको भनाई छ । अहिलेसम्म निर्माणको ३३ प्रतिशत काम सकिएको बताउँदै उनले भने, ‘सम्झौता भएको मितिमै काम सकिन सम्भव त देखिँदैन । अहिले पनि केही हदसम्म काम भइरहेको छ ।

निर्माण हुने स्थानमा दुईतर्फ खाल्डो खनेर छोडिएको छ । नियमित काम भने भएको छैन । ६ करोड २५ लाखमा निर्माण सम्पन्न हुने स्वागतद्वारमा विभिन्न संरचना समेत निर्माण हुने निमित्त कार्यालय प्रमुख संवोको भनाई छ ।

निर्माण कम्पनीले काममा ढिलाई गरेपछि पत्र समेत पठाइएको उनले बताए । उनले भने, ‘निर्माण कम्पनीलाई खबरदारी पनि गरिरहेका छौँ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!