मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर–४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको हुलाकी सडकखण्ड बेला–बेलामा चर्चामा आउने गर्छ । सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयले चाँडो काम सक्न दबाब दिँदै नेता बहिष्कार अभियानदेखि सवारीसाधन आवागमन ठप्प पार्दै आएका छन् ।

Advertisement

दशक अवधिमा पनि करिब ३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण सो क्षेत्रका बासिन्दा, व्यवसायीलगायत अनेक खाले सास्ती खेप्न बाध्य छन् ।

पछिल्लो समय सडक निर्माण कार्यले केही गति लिएको थियो । तर थोरै स्थानमा नाला बन्न नसक्दा पूरै काममा अवरोध भएको छ । नाला निर्माण गर्न दुईवटा घर बाधक बनेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार गंगा श्रेष्ठ र केदार घिमिरेले घर भत्काउन नदिने अडान राखेपछि नाला निर्माणले गति लिन नसकेको हो ।

नाला निर्माणका लागि घरको अगाडिको भाग भत्काइ साइट क्लियर गरिदन भन्दै बैशाख ३१ गते विराटनगर महानगरपालिकाले गंगा श्रेष्ठको घरमा सूचना समेत टाँस गरेको थियो ।

सूचनामा भनिएको छ, ‘सडक मापदण्डभित्र परेको तपाईंको घरको अगाडिको भाग भत्काइ साइट क्लियर गरी ड्रेन बनाउनु पर्ने भएकोले यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र नालामा पर्ने घरको अगाडिको भाग भत्काई साइट क्लियर गरिदिनु हुन अनुरोध छ । उक्त अवधिभित्र साइट क्लियर नभएमा नियमानुसार महानगरपालिकाबाट भत्काई साइट क्लियर गरिनेछ । सो भत्काउँदा लागेको खर्चसमेत तपाईंले नै व्यहोर्नु पर्ने व्यहोरा समेत जानकारी गराइन्छ ।’

‘जबरजस्ती घर भत्काउन खोजिँदैछ’

घरधनी श्रेष्ठ भने साइट क्लियर गर्ने पक्षमा छैनन् । नक्सामा भएको बाटो यकिन नगरिकन नाला निर्माणको काम गरेका कारण बाटो निर्माणमा समस्या भएको घरधनी श्रेष्ठ बताउँछन् ।

उनी भन्छन, ‘यो बाटोको नक्सा वडा नम्बर ४ मा पर्छ । मेरो घर ५ नम्बरमा छ । नक्सामा १ सय २२.१२ फिटको बाटो देखाएपनि अहिले ५४ फिट मात्रै देखिएको छ । बाँकी ६८ फिट बाटो कहाँ गयो त ?’

यसको खोजबिन नगरी जबरजस्ती घर भत्काउन खोजिएको उनको भनाइ छ । उनले ४ नम्बरतिरका घर बचाउन उता पर्ने जग्गालाई गुपचुप राखेर आफ्नो घर भत्काउन चलखेल भएको बताए ।

नाला र सडक निर्माण नहुँदा मलाई पनि समस्या भएको छ, उनी भन्छन्, ‘यसरी यकिनै नगरी एकतर्फी दबाब दिएर हुँदैन । खास समस्या पहिचान गरी समाधान निकाल्न आवश्यक छ ।’ महानगरले पनि कुनै तथ्य प्रमाणबिना सूचना टाँसेर दबाब दिएको उनले गुनासो गरे । छरछिमेकले पनि एकलौटी पेलेर आफूलाई एक्लो बनाएको उनको बुझाइ छ ।

‘गलत भए जस्तो पनि कारबाही भोग्न तयार छु’, श्रेष्ठ भन्छन्, ‘अदालतले नै नभत्काउनू भनेर आदेश दिएको अवस्थामा यसरी जबरजस्ती त गर्न भएन नि । घर पनि बैंकमा राखेर कर्जा लिएको छु ।’

‘जसरी पनि नाला र सडक बन्नुपर्छ’

लामो समयदेखि सडक र नाला निर्माण नहुँदा अनेक समस्या भोग्न बाध्य हुनुपरेको भन्दै स्थानीयले भने जसरी पनि निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई दबाब दिइरहेका छन् । बर्षौँदेखि धुलो र हिलोको समस्याले आजित स्थानीय छिटो सडक बनोस् र राहतको श्वास फेरौँला भन्ने आशमा छन् ।

स्थानीय तिलकराम ओझाको सडक छेउमा किराना पसल छ । तर अत्यधिक उड्ने धुलोका कारण समस्या हुने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘लामो समयदेखि सडक नबन्दा धुलोले स्वास्थ्यमा असर त गरेको नै छ । आवत–जावतमा पनि समस्या हुन्छ ।’

पछिल्लो समय कामले केही तिब्रता पाए पनि अहिले आएर फेरि एउटै समस्याले काम रोकिएको उनले बताए । सोही स्थानका माधव दाहाल पनि सडकबाट उड्ने धुलोका कारण आजित भइसकेका छन् । पानी पर्दा हिलोका कारण समस्या हुनेगरेको र घाम लाग्दा धुलोको समस्या हुनेगरेको उनी सुनाउँछन् ।

अर्का स्थानीय खड्गबहादुर खड्का नाला निर्माणमा अबरोध भएका कारण पुरै गाउँबासी समस्यामा परेको बताउँछन् । थोरै स्थानको नाला निर्माणमा अबरोध भएका कारण यो बर्ष पनि डुबानको समस्या झेल्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । एकदुई जनाको अवरोधका कारण पूरै गाउँबासीले सास्ती खेप्नुपरेको उनले बताए ।

जामुनगाछीस्थित आइतबारे चोकमा चियानास्ता पसल सञ्चालन गर्दै आएकी रिता न्यौपाने धुलोकै कारण व्यवसायमा ह्रास आएको बताउँछिन् । अहिलेको अवस्थामा पसल खोलेर बस्न समेत समस्या हुनेगरेको उनको गुनासो छ ।

नाला निर्माणका लागि सम्बन्धित निकायले यथाशीघ्र उचित कदम चाल्नुपर्ने स्थानीय उत्तम दाहाल बताउँछन् । समयमा काम सम्पन्न गर्न सम्बन्धित पक्षले चासो नदेखाए बिगतमा जस्तै सडक बन्द गर्न बाध्य हुने उनको भनाइ छ ।

सडकबाट उड्ने अत्यधिक धुलोका कारण स्थानियको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनले बताए । उनले संगालोखबरसँग भने, ‘प्रदेशको राजधानीमा भएर पनि दुर्गम बस्ती जस्तै लाग्छ । यो स्थानलाई विकास निर्माणमा सबैभन्दा पछि पारिएको छ । सम्बन्धित पक्षले वास्ता नगरे हामी फेरि बिगतका अभियान सञ्चालन गर्न बाध्य हुनेछौँ ।’

सुनसरीको बर्जु गाउँपालिकाको पर्यटकीय स्थल बर्जु ताल पुग्ने मुख्य सडक पनि यही हो । तर लामो समयदेखि निर्माणधीन सडकले पूर्णता नपाउँदा आवत–जावतमा पनि समस्या हुनेगरेको छ । उक्त सडक निर्माणको जिम्मा देव एण्ड सायर कम्पनीले पाएको छ । विगतमा जिम्मा पाएको भूमि कन्स्ट्रक्सनले काम छाडेर भागेपछि देव एण्ड सायर कम्पनीले निर्माणको जिम्मा पाएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!