काठमाडौं, ७ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डले हङकङलाई १३ रनले हराएको छ । लगातार दुई जितसँगै डच टोली १० खेलबाट १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
११ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । नेपाल ८ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।
नेदरल्याण्डले प्रस्तुत गरेको ३१५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली हङकङले ५० ओभरमा ८ विकेट गुमाएर ३०१ रन मात्र बनाउन सक्यो ।
४८ औं ओभरको पहिलो बलमा नै बाबर आउट हुनु उसका लागि घातक बन्यो । उनी ८६ रनमा आउट भएका हुन्, जतिबेला टिमलाई तीन ओभरमा ३८ रन चाहिएको थियो ।
अर्को ओभरमा पनि हङकङले विकेट गुमायो र, अन्तिम ६ बलमा २४ रन चाहिएको थियो । सुरुवाति ३ बलमा तीन रन लियो । तर, चौथो बलमा एहसान खानले छक्का हान्दै हङकङलाई आश देखाए । पाँचौं बलमा एक रन जोडे भने अन्तिम बलमा अजिज खान आउट हुन पुगे र घरेलु टोली हार्यो ।
उसका बाबरले ८६ रन बनाउनु बाहेक अन्सुमान रथले ८५ रनको योगदान दिए । निजाकत खानले ४१ रन जोडे । तर, अन्य व्याट्सम्यान चल्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको अनलाइन खवरमा समाचार छ ।
उसका लागि बेन कुपरले ७८ रनको महत्वपूर्ण पारी खेले । माइकल रिपोनले ५३ रन जोड्दा पिटर बोरेन मात्र १ रनले अर्धशतक बनाउन चुके ।
हङकङका लागि एहसान खानले ३ तथा नदिम अहमदले २ विकेट लिए ।