काठमाडौं । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैंकको ऋण तथा व्यापार व्यवसायका लागि भन्दै ससुरालीबाट लिएको ऋण र त्यसबाट उत्पन्न घरायसी झगडाका कारण घटनाले परिवार नै सखाप हुने अवस्था निम्त्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

Advertisement

ऋण र घरायसी कलहले परिवार नै सखाप
घटनाको समय २० घण्टाको फरक हुन सक्छ : प्रहरी

प्रहरीका अनुसार सुदीपले कृषि विकास बैंकबाट २३ लाख ८५ हजार रुपैयाँ ऋण लिएको कागजपत्र फेला परेको छ । यस्तै, ससुराबाट समेत व्यापार व्यवसायका लागि भन्दै गत वैशाखमा २ लाख ऋण लिएको देखिएको छ । सोही कारण परिवारमा कलह सुरु भएको र बैंकले १ आना ३ पैसामा बनेको घर नै लिलाम गर्ने अवस्था सिर्जना भएपछि परिवारको हत्या गरेर आफूले समेत आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सुतेकै अवस्थामा श्रीमती र छोराको हत्या गरिएको र घटनामा धारिलो हतियारसमेत प्रयोग भएको पाइएकाले परिवारको हत्यापछि उनले आत्महत्या गरेको हुन सक्ने प्रहरी बताउँछ । ‘श्रीमती र छोराको हत्या भएको करिब २० घण्टाको फरकमा सुदीपले आत्महत्या गरे जस्तो देखिन्छ, अरूबाटै अट्याक भएको भए यो बीचको समयमा उनले नै प्रहरीमा खबर गर्न वा छिमेकीसँग हारगुहार गर्न सक्थे तर त्यसो नगरेर हत्यापछि उनले आफूले समेत विष सेवन गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले राजधानीसँग भने ।

हत्याको अनुसन्धानमा खटिएका अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार एकनाले घरको प्रत्येक कोठामा एक एक जनाको शव फेला परेको थियो । उनका अनुसार श्रीमती र छोराको शव गन्हाएको र शरीरमा धारिलो हतियारको चोट देखिएको तथा छोराको शवसँगै फलामे हतियारसमेत भेटिएको थियो । ‘दुई जनाको शरीरमा चोट देखिएकाले घटनामा धारिलो हतियार प्रयोग भए जस्तो देखिन्छ, विस्तृत रूपमा पोस्टमार्टम रिपोर्ट आउँदासम्म कुरौं,’ महाशाखाका प्रमुख थापाले भने ।

शुक्रबार साँझ ५ बजे सुदीपका भाइ सुनिलले दाइको परिवार नै मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि भक्तपुर प्रहरी र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । सुनिल दाइको घरमा मासु पु-याउन भन्दै गएका थिए । उनले ढोका खुला रहेको देखेपछि भित्र पस्दा सबैलाई मृत अवस्थामा देखेका थिए भने त्यसपछि प्रहरीलाई खबर गरेको बताएका छन् । घटनाको अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विज्ञसहितको टोलीसमेत खटिएका छन् ।

सो टोलीको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमती र छोराको मृत्यु पहिले नै भएको र श्रीमान् सुदीपको मृत्यु केही दिनपछि भएको हुन सक्ने भनेको छ । यस्तै सुदीपबाहेक दुवै जनाको टाउकामा चोट रहेको फरेन्सिक विज्ञहरूले प्रहरीलाई भनेका छन् ।प्रहरीले सूचना पाएलगत्तै घरलाई सिल गर्दा पहिलो तलामा सुशान्त र दोस्रो तलामा सम्झनाको शव भेटेको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार श्रीमती र छोरा मृत फेला परेको बेडको भित्तामा रगतको छिर्कासमेत पाइएको छ । सुदीपले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना स्थलबाट सुदीपको मुखबाट निस्किएको वान्तालाई समेत प्रहरीले परीक्षण गर्न पठाएको छ ।

घटनास्थलको अनुसन्धानका क्रममा प्रहरीले भान्सामा भात, तरकारीलगायत केही खानेकुरा पनि भेटिएको जनाएको छ भने घरमा पालिएको कुकुरसमेत मृत भेटिएका कारण कुकुरले विष राखिएको खानेकुरा खाएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीका अनुसार एक वर्षपहिले सुदीपले औषधि पसलमा काम गर्ने गरेका थिए । तर पछिल्लो केही समययता उनले जागिर छाडेपछि रक्सी खाएर झैझगडा गर्ने गरेका थिए । छोरासँग पनि सुदीपको झगडा हुने गरेको स्थानीयले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

श्रीमती र छोराको शव गन्हाएको र सडेको अवस्थामा भेटिएकाले घटनाबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुन सकिने प्रहरीले जनाएको छ । मृतकका आफन्तले भने शनिबार महानगरीय प्रहरी वृत्त ठिमिमा घटनाको सत्यतथ्य छानिबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन् । -महेश्वर गौतमले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!