- पत्रपत्रिका खवर

काठमाडौं । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिने गरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो ।

प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिखित भन्सार शुल्क चुक्ता गरिसक्नुपर्ने सन्देश थियो । उक्त शुल्क चुक्ता गरेपछि ५० हजार रुपियाँ पनि पाउने उल्लेख गरिएको र सामान पु-याउने ठेगाना ललितपुरको हरिसिद्धि राखिएको थियो ।

एक महिनाअघि पनि भन्सार विभागकै लोगो र नाम प्रयोग गरिएको ९८१००९२३६५ नम्बरबाट विभिन्न व्यक्तिलाई ह्वाट्स एपमार्फत सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको र भन्सार शुल्क चुक्ता गरेपछि घरमै सामान आइपुग्ने भन्दै तस्बिरसहितको सन्देश पठाइएको थियो ।

अझ विदेशबाट कसैले नेपालीको नाममा सामान पठाएको र उक्त सामान आफूले विमानस्थलसम्म पुर्याइदिएको भन्दै भन्सार चुक्ताका लागि एकाउन्ट नम्बर उल्लेख गरेर पनि ह्वाट्स एपमार्फत धेरैलाई सन्देश पुगेको थियो । भन्सार विभागकै नाम तथा लोगो अङ्कित भएपछि सम्पर्कमा आएका कतिपयले यसलाई सत्य ठानेर थप कुराकानी र रकम भुक्तानीको प्रक्रियाका विषयमा सोधपुछसमेत गरेका थिए ।

तर यी कुनै पनि किसिमका गतिविधि भन्सार विभागबाट भने भएका थिएनन् । भन्सार विभागले कुनै पनि व्यक्तिलाई सम्पर्क गरेर सामान घरमै पुर्याइदिने र त्यसबाट भन्सार चुक्ता गर्न सन्देश पठाउँदैन । न त भन्सार विभागको कुनै ह्वाट्स एप नम्बर नै छ । सामान पुर्याउने र त्यसबापत थप रकम दिने काम त विभागबाट झनै हुँदैन । यी सबै गतिविधि पछिल्लो समय भन्सार विभागको नाम लिएर गरिने ठगीका नयाँ प्रवृत्ति मात्र हुन् । अहिले भन्सारको नाममा पैसा मागेर ठगी गर्ने प्रवृत्ति मौलाउँदो छ ।

यस्ता गतिविधि बढेपछि भन्सार विभागले चनाखो भएर त्यस्ता गतिविधि निरुत्साहित गर्न प्रयास अगाडि बढाइरहेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । “मलाई पनि केही व्यक्तिले सम्पर्क गरेर यस किसिमको शुल्क मागेको बताउनुभएको थियो ।

भन्सार विभागले त्यस्तो काम नगर्ने र त्यो ठगी हो भनेर मैले उहाँहरूलाई सचेत गराएको थिएँ,” उनले भने । उनका अनुसार विभिन्न किसिमका सन्देश पठाएर विभागका नाममा ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनेगरी विभागले योजना बनाएको छ ।

विभागले पनि समय-समयमा आफ्नो आधिकारिक वेबसाइटमा रहेका सूचनामा मात्र विश्वास गर्न र यसकिसिमको भ्रममा नपर्न आग्रह गर्दै आएको छ । खासगरी ह्वाट्स एपमा आउने त्यसकिसिमका सन्देशको जालझेलमा नफस्न पनि विभागको आग्रह छ । अपरिचित व्यक्तिबाट आउने यस्ता सन्देशबारे प्रहरी कार्यालय वा विभागलाई नै खबर गरिदिन पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । – गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!