पत्रपत्रिका खबर

काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ ।

Advertisement

वैदेशिक सम्पति, चालू खाता, शोधानान्तर स्थिति घाटैघाटामा

गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत मात्र रहेको थियो । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको बढोत्तरीका कारण व्यापार घाटा बढेको हो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति १ वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ । आयातबाट विदेशी मुद्रा बाहिरिने बढी र विदेशी मुद्राभित्रिने क्रममा कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।

रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।

अर्थतन्त्रका सूचकांक बिग्रँदो स्थितिमा जाँदै गर्दा चालू खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

– चालू खाता एक वर्षमा ५ अर्ब १७ करोडले घाटामा

– शोधनान्तर स्थिति २ अर्ब १४ करोडले घाटामा

– वैदेशिक लगानी ४ दशमलव ९ प्रतिशतले कमी

– मूल्यवृद्धि दोब्बर

– पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी

२०७९ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १३ खर्ब ३० अर्ब ६५ करोड तथा दायित्व १५ खर्ब ८८ अर्ब २७ रुपैयाँ करोड रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ५७ अर्ब ६२ करोडले घाटामा रहेको छ । २०७८ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ८० अर्ब १२ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७८-७९ को आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२ दशमलव१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपात क्रमशः ३२ दशमलव ७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

गत आर्थिक वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई ९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ दशमलव ९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको थियो । गत वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव १ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८ दशमलव ९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५ दशमलव १ प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३ दशमलव २ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको अन्तिम महिनामा भने विदेशी विनिमय सञ्चितिमा सामान्य सुधार भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार जेठ २०७९ को तुलनामा असार २०७९ मा विदेशी विनिमय सञ्चिति बढेको हो । जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड रहेको थियो ।

अमेरीकी डलरमा पनि पछिल्लो एक महिनामा भने ९ करोड डलरले विदेशी विनिमय सञ्चिति बढेको छ । असार २०७९ मा ९ अर्ब ४५ करोड डलर रहेको विदेशी मुदाको सञ्चिति साउन २०७९ मा ९ अर्ब ५४ करोड डलर पुगेको हो ।

असारमा बढेको रेमिट्यान्स तथा बाह्य सहायता परिचालनसमेत बढेर विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । साथै आर्थिक वर्षको पछिल्लो महिनामा आयात नियन्त्रण भएसँगै त्यसले पनि थप सहयोग गरेको हो ।

गत आर्थिक वर्षमा मूल्यवृद्धि दर दोब्बर भएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र ब्यांकले साउन ३१ गते सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार बितेको आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि दर ६ दशमलव ३२ प्रतिशत पुगेको छ ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि दर ३ दशमलव ६ प्रतिशतमा सीमित थियो । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले पछिल्ला महिनामा मूल्यवृद्धि चर्किएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको असारका तुलनामा गत असार महिनामा उपभोक्ता मूल्यवृद्धि ८ प्रतिशत नाघेको छ । जेठमा मूल्यवृद्धि दर ८ दशमलव ५६ प्रतिशत थियो । गत वर्षको सुरुवाती महिनामा मूल्यवृद्धि दर न्यून भएका कारण औसतमा वार्षिक मूल्यवृद्धि दर कम (६ दशमलव ३२ प्रतिशत) देखिएको हो ।

गत वर्ष सबैभन्दा धेरै घिउ तथा तेल र दाल तथा गेडागुडीको मूल्य क्रमशः २६ दशमलव १३ र ९ दशमलव ९२ प्रतिशतले बढेको छ । यातायातको मूल्य औसतमा १५.८२ प्रतिशत र शिक्षाको मूल्य ८ दशमलव ७८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा नेपालले ३ खर्बको वस्तु निर्यात गरेको छ । भने १९ खर्ब २० अर्बको वस्तु आयात गरेको छ । । अर्थात्, एकै वर्षमा नेपालले वैदेशिक व्यापारमा १७ खर्ब २० अर्ब घाटा बेहोरेको छ । नेपाली अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्दै आएको रेमिट्यान्सको आप्रवाह गत वर्ष सामान्य बढेको छ । बितेको वर्ष नेपालमा १० खर्ब ७ अर्ब (८ अर्ब ३३ करोड अमेरिकी डलर) भित्रियो । रेमिटेन्स १० खर्ब नाघेको पहिलोपटक हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ दशमलव शून्य प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । त्यस्तै, २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका अनुसार आयात २४ दशमलव ७ प्रतिशतले र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात २८ दशमलव ७ प्रतिशतले र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको थियो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ५० खर्ब ८३ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४६ खर्ब २१ अर्ब पुगेको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!