संगालोखबर


विराटनगर । स्वास्थ्य उपचारमा स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले जीवन विकास सामुदायिक अस्पताल र मोरङको धनपालथान गाउँपालिकाबीच सहकार्य भएको छ ।

अस्पताल र धनपालथान गाउँपालिकाबीच स्वास्थ्य उपचारमा १० देखि ५० प्रतिशतसम्म छुटको सम्झौता भएको हो । योसँगै धनपालथान गाउँपालिकाका स्थानीयले जीवन विकास अस्पतालमा सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका छन् ।

गाउँपालिकाका स्थायी बासिन्दासहित जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले यस सुविधाको लाभ लिन सक्नेछन् । अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवा तथा उपचार शुल्कमा सम्झौताअनुसार विशेष सहुलियत प्रदान गरिनेछ ।

बुधबार धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदार र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनका सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले हस्ताक्षर गरेका हुन् । प्रारम्भिक रूपमा एक वर्षका लागि गरिएको यो सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।

समझदारीअनुसार ओपीडी, आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त उपचार, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा छुट उपलब्ध हुनेछ ।

स्थानीय तहसँगको सहकार्यबाट नागरिकलाई आर्थिक रूपमा सहज हुने गरी स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको प्रयास रहेको छ । यसअघि पनि अस्पतालले विभिन्न स्थानीय तहसँग यस्तै प्रकृतिका सम्झौता गरी नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ ।

मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा सञ्चालनमा छन् । अस्पतालमा आईसीयू, एनआईसीयू, एचडीयू, सीसीयूलगायतका सघन उपचार सेवा उपलब्ध छन् । साथै अत्याधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!