
उदयपुर । उदयपुर ११ लाई पराजित गर्दै हिमालयन शेर्पाले चौथो रमपम उदयपुर गोल्डकपमा बिजयी सुरुवात गरेको छ । शुक्रवार भएको खेलमा घरेलु टिम उदयपुर ११ लाई ४–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पाले बिजयी सुरुवात गरेको हो ।
खेलको ११ औँ मिनेटमा हिमालयन शेर्पाका ९ नम्बर जसीका सकुरज हमालले गोलको खाता खोलेका थिए । मध्यान्तरपछिको ३५ औँ मिनेटमा जर्सी नम्बर ४ का खेलाडी मौसम कामाघाटले अर्को गोल थप्दै हिमालयनलाई थप अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा हिमालयको जर्सी नम्बर १० का विशाल श्रेष्ठले अर्को गोल थपेका थिए ।
उदयपुरको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी रामु थापामगरले मध्यान्तरअघि २२ औँ मिनेटमा गरेको एक गोल जितका लागि पर्याप्त हुन सकेन । राष्ट्रिय टोली हिमालयन शेर्पाको दबाबमा परेको घरेलु टोलीले आफ्नो टिमको लागि गोल थप्नुको सट्टा उल्टै आत्मघाती गोल गरेपछि खेल ४–१ को स्थितीमा टुंगिएको हो ।
उदयपुर ११ का खेलाडी जर्सी नम्बर १५ का लक्ष्मी परियारले आत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच हिमालयनका विशाल श्रेष्ठ घोषित भए । उनलाई पाँच हजार नगद प्रदान गरियो । उदयपुरको तर्फबाट एकमात्र गोल प्रहार गर्ने रामु थापामगरलाई १६ औँ मिनेटमा पहेलो कार्ड मार्फत रेफ्रीले कारवाही गरेका थिए ।
शनिवार हुने प्रतियोगिताको तेस्रो खेल बिभागीय टोली एपीएफ काठमाडौँ र मोरङ ११ बीच हुने आयोजकले जनाएको छ । यसअघि बिहीवार भएको उद्घाटन खेलमा धरान फुटबल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै शंकटाले बिजयी सुरुवात गरेको छ ।