प्यूठान । पछिल्लो समयमा नसर्ने मध्येको क्यान्सर धेरै मानिसमा देखिन थालेको जिल्ला स्वास्थ्यको तथ्याकंले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको स्रोत अनुसार मृगौला, मुटुरोग, पार्कीन्सन, अल्जाइमर्स रोग, स्ट्यान्डल इन्जुरी, हेड इन्जुरी, सिक्लेस इनिमिया लगायतका नसर्ने रोगहरु मध्ये क्यान्सर बढी मानिसमा रहेको बताइएको छ ।

गत वर्ष ३७ जना क्यान्सर भएका व्यक्तिलाई उपचारको लागि जिल्ला बाहिर सिफारिस गरेको जिल्ला स्वास्थ्य प्रमुख डा. कृष्ण शाहले बताए ।‘मानिसको मृत्यु हुने पहिलो कारण मुटु रोग हो भने दोस्रोमा क्यान्सर,’–शाहले भने–‘प्यूठानमा पनि क्यान्सरका विरामी थपिने क्रम बढ्दो छ ।’ नेपाल सरकारले यी यस्ता रोगको उपचार गर्न एक लाख दिने व्यवस्था गरेपनि धेरैलाई थाहा नहुंदा रोग पालेर बस्ने गरेको बताउदैं क्यान्सर रोग न्यूनिकरण गर्न आम जनतालाई धुम्रपान प्रयोग नगर्न सल्लाह समेत लिएका छन् ।

Advertisement


शनिवार जिल्ला अस्पताल प्यूठानमा विरामीहरुलाई फलफुल वितरण गर्दै मनाइएको विश्व क्यान्सर दिवस अवसरमा क्यान्सर रोग र यस्को सचेतीकरण बारे जानकारी गराइएको थियो ।

क्यान्सरले मरिदैन

ग्रामीण स्तरमा अझै पनि क्यान्सरको उपचार हुँदैन, क्यान्सर भएपछि बाँचिदैन भन्ने भ्रम रहेको प्यूठान अस्पतालका एम.जि.पी. डा. समिर लामाले बताए । ‘समयमै आफुलाई क्यान्सर भएको छ÷छैन भनेर चेक जांच गर्न सके क्यान्सरबाट बच्न सकिन्छ । पाठेघरको क्यान्सर चेक जाँचका लागि जिल्ला अस्पतालमा प्रत्येक शुक्रबार भि.आई.ए जाँच( पाठेघरको मुखमा औषधी राखेर गरिने जाँच) गरिँदै आएको छ ।’ डा. समिरले भने ।

७६ जनालाई सिफारिस

जिल्ला स्वास्थ्य कार्यालय मार्फत विपन्न नागरिकलाई औषधी उपचारका लागि आर्थिक सहायता कार्यक्रम अन्तरगत २०७२/०७३मा ७६ जना रोगीको स्वास्थ्य विभागमा सिफारीस गरेको जानकारी दिए । जसमा सबै भन्दा बढी क्यान्सर रोगी ३७ जना, २० जना मुटुरोगी, ११ जना मृगौला, ५ जना ढाड रोगी, २ हेड इन्जुरी (टाउकोको समस्या) र १ जना सिकलेस इनिमिया (रक्त अल्पत्ताबाट लाग्ने) रोगका विरामी रहेका छन् ।

गाउँमै पहिचान हुन्छ रोग

५ बर्ष देखि माथीका मानिसको मृगौला, चिनी रोग, पिसाव जाँच जिल्लाका प्रत्येक स्वाथ्य चौकी मार्फत गरिने जिल्ला स्वास्थ्य प्रमुख एवं मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण शाहले बताए ।

‘क्यान्सर, मृगौला, मुटुरोग, पार्कीन्सन, अल्जाइमर्स रोग, स्ट्यान्डल इन्जुरी, हेड इन्जुरी, सिक्लेस इनिमिया रोगको उपचारको लागि सरकारले विपन्न नागरिकलाई औषधी उपचारका लागि १ लाखसम्म आर्थिक सहायता प्रदान गर्ने बारे सबै जानकारी गराउन जनचेतनाको कार्यक्रममा लागेका छौं, डा. शाहले भने  । रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!