संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन् । रतुवामाई नगरपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच सम्झौता भएसँगै छुटको व्यवस्था लागू भएको हो ।

नागरिकलाई सहज, सुलभ तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार नगरपालिका र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालकी प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र रतुवामाई नगरपालिकाका अध्यक्ष नागेश्वर प्रसाद सिंहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार रतुवामाई नगरपालिकाका बासिन्दा, स्थानीयतह अन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् ।

ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटी स्क्यान तथा यमआरआई लगायतका स्वास्थ्य सेवामा सम्झौताअनुसार छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

अस्पताल र नगरपालिकाबीच भएको यो सहकार्यले रतुवामाई नगरपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि लाग्ने खर्चमा राहत पुग्ने अपेक्षा गरिएको छ । यस्तै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवामा उनीहरूको थप पहुँच विस्तार हुने अस्पतालले जनाएको छ ।

स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गरिएको यस समझदारीलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण सहकार्यका रूपमा लिइएको छ ।

समझदारी पत्रको अवधि सम्झौता गरेको मितिदेखि एक वर्षसम्मको हुनेछ । आवश्यकता र आपसी सहमतिका आधारमा दुवै पक्षले सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४ घण्टा इमर्जेन्सी तथा ट्रमा केयरका साथै विभिन्न विशेषज्ञ ओपीडी सेवा, आकस्मिक सेवा, आइपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू तथा सीसीयू लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

अस्पतालमा अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!