- दीपक घिमिरे
दीपक घिमिरे

ठाडै उकालो ! स्वाँ स्वाँ गर्दै टुप्पोमा उक्लिदा सम्म मेरो आधा परान गायब । सँगै आएका सिम्लेबासी ५० किलोभन्दा धेरै सामान बोकेर आनन्दले हिड्दैथे । म भने मुस्किलले पाँच किलो बोकेर पनि थकित, असिन पसिन थिएँ । मेरो स्वाँ स्वाँ र निधारको पसिना देखेर साठी काटेका एक जना अंकल हाँस्दै भने, ‘शहरको पानीमा दम छैन बाबु, ज्यान हेर्दा सुकिलो भएर के गर्नु, ताकत र ऊर्जा गायब रहेछ ।’
बुढाको गिज्याइले मेरा सहपाठीहरु मस्तले हाँसे । बुढासँगै भएका अरु गाउँलेहरु पनि मलाई गिज्जाउदै हाँसे । म थकित भएर पनि हाँसें ।
सिम्ले गाउँभन्दा तलको चौपारोमा बसेर थकान मेट्दै गरेका भरियामध्ये एउटा थिए रनबहादुर दमाई । उज्यालो चेहराका धनी उनी हाम्रै नजिक बसेका थिए । पिप्ले बजारमा सुन्तला छाडेर उताबाट हल्दार माइलाको चामल बोकेर आएका रने दाइ हेर्दै सोझा देखिन्थे । पहिलो पटक आएको यो गाउँको बारेमा मेरै छेऊमा बसेका रने दाइलाई कोट्याउँदै सोधें, ‘सिम्ले गाउँ पुग्न अब कति बाँकी होला ?’
कालो भादगाउँले टोपी शीरबाट निकाल्दै चोर औंलाले माथिल्लो डाँडो देखाउँदै रने दाइले भने, ‘हाम्लाई आधा घण्टा, हजुरजस्ता शहरियालाई ठ्याक्कै एक घण्टाको उकालो बाटो हो । ऊ माथिको टुप्पो नै सिम्ले गाउँ हो ।’

सिम्ले गाउँ पुग्ने बाटो देखेर सातो उड्यो तर पुग्नुपर्ने अन्तिम गन्तव्य नै सिम्ले भएसी डराएर के फाइदा ! हिम्मत लिदै झोला बोकें । सँगै ती गाउँले पनि उठे अनि मेरा मित्रहरु पनि ।
सिम्ले गाउँको बारेमा त्यति परिचय मैले दिन नपर्ला । यो ऐतिहासिक गाउँको बारेमा मलाई पनि त्यति धेरै थाहा छैन । यत्ति चैं थाहा छ कि सिम्ले परार सालको महाभूकम्पमा परेर ध्वस्त भएको ऐतिहासिक गाउँ हो । भूकम्पअघि प्लेनबाट खिचिएका सुन्दर तस्बिर र भूकम्पपछि पत्रकारले खिचेका तस्बिरले गर्दा कतिबेला सिम्ले पुगिएला भन्ने कौतुहलताले मन अत्याउँदै थियो । एकैछिनको विश्रामले पनि शरीरमा जोश पलाएको थियो । फटाफट हिडें– गाउँले सँगसँगै । सबै पछाडि छुटे, म आधा घण्टा अगाडि– रने दाइसँगै । सिम्लेको बारेमा धेरै कुरा यिनै रने दाइलाई सोध्दै म सिम्ले पुगें ।

Advertisement

यातायातको पहुँचबाट तीन घण्टाको पैदल यात्रापछि पुगिने सुन्दर गाउँ हो सिम्ले । काठमाडौंबाट पाँच घण्टा ननस्टप बसमा कुदेर पिपलटार अनि पिपलटारबाट तीन घण्टा पैदलमा सिम्ले । सिम्लेको सुन्दरता बयान गरि साध्य छैन, गुगलमा सर्च गरेर हेर्नुहोला । स्वर्गकै एउटा प्रदेश हो सिम्लेभन्दा फरक नपर्ला ।

रने दाइकै पछि लागेको मलाई उनले सिम्लेको ऐतिहासिकताको बारेमा धेरै कुरा बताए । दुई सय घर धुरी भएको सिम्ले गाउँ परारको भूकम्पमा परी एउटा पनि घर सग्लो बचेन । दुई दर्जन मान्छे ठाउँमै मरे । एक दर्जन अस्पतालमा मरे, पाँच दर्जनभन्दा धेरै घाइते छन् । रने दाइ बाख्रा ग्वाला गएर बचे । उनको परिवार झुप्रो घरकै कारण बचे तर घर बचेन । ढुङ्गाका घर भएका अनि घरभित्र आराम गरेका अधिकांश मरे, रने दाइको जस्तो फुसको घर हुनेहरु बेघर भए तर मरेनन् ।

हल्दार माइलाको सामान पु¥याउन उनी अलिकति माथि उक्लिए । म एउटा ढुङ्गाको अडेस लागेर साथीहरुलाई कुर्दै बसें । एकैछिनको पर्खाइमै साथीहरु तलबाट आए, माथिबाट रने दाइ । हातको मोबाइलमा एयरफोन घुसाएर एफएम सर्च गरे । नेपालवाणी एफएम स्पष्ट टिप्यो, नेपालखबर आउँदै थियो । संसदमा भूकम्पपीडितका लागि अनुदानमा आएको चामल सडेर विभिन्न व्यक्तिहरुको रोहबरमा गाडिएको खबर जोडतोडले भट्यायो । हामी साथीहरु एक अर्काले हेराहेर ग¥यौं । रने दाइलगायतका सिम्लेबासीले त्यो खबर नै बुझेनन् ।
तीन घण्टा रने दाइसँगको मित्रताले उनी र सिम्ले गाउँसँग नजिक बनाउँदै थियो । आज उनकै घरमा रातको बास हुने अवस्था आयो । सबै साथीहरु बास खोज्दै हिडे, म रने दाइकै पछि लागें, उनकै आग्रहमा उनकै घरतिर ।

ठूला–ठूला ढुङ्गा अनि काठका फ्ल्याकले बेरेको, माथि छानोमा पुराना टिन र त्रिपालले ढाकेको एउटा सानो घर नै रने दाइको घर रहेछ । रने दाइकी बुढी सुन्तली भित्र थिइन् । ओराले भीरमा बनेको सामान्य घरमा चार ठूला मन भएका मान्छे बस्दा रहेछन् । दुई भाइ छोराहरु रने दाइलाई झम्टिन आइपुगे, ‘बाबा ! ललिपप मिठाई खोइ ? खैं भेली मिठाइ ?’
नजिकै आँगन मुन्तिरको कान्लोमा अडिएको ठूलो ढुङ्गामा म बसें । रने दाइ छोराहरु लिएर घरभित्र पसे । उनीहरुको आफ्नो सामान्य गफपछि चारै जना आँगनमा झुल्किए । सबैले मुस्कानसहित मलाई नमस्कार गरे । कान्छो छोराको नमस्कार गर्ने स्टाइलै अलग– हातै नजोडी शिर निहुरायो । मैले सम्मानपूर्वक नमस्कार फर्काएँ । सिम्ले गाउँ यति चिसो थियो कि बयान गरि साध्य छैन तर दुबै छोराको कम्मरभन्दा तल कपडा थिएन । गरिबी र अभाव छर्लङ्ग देखिन्थ्यो । साँच्चै भूकम्पपीडित थिए रने दाइको परिवार ।

झोलामा भएका ड्राई फुडहरु निकालेर केही उनीहरुलाई दिएँ, केही आफैसँग राखें । स्लिपिङ ब्याग खोलेर आँगनमा बिछ्याएँ । सुन्तली भाउजूले एक बोतल पानी ल्याइदिइन् । ड्राइफुड खाँदै भलाकुसारी भयो ।
‘दिउँसो आएको भएर बाँचियो, राती भए धेरै मर्थे ।’ मैले दिएको चाउचाउ चपाउँदै सुन्तली भाउजूले भनिन् । भाउजूको कुरामा थप्दै रने दाइले भने, ‘बाँचेर पनि मरेजस्तै भएको छ, हिउँदमा काम्दै, बर्षामा रुझ्दै बसेका छौं ।’
साँच्चै दयनीय थियो सिम्लेबासीको अवस्था । भूकम्पपीडितको नाममा राजनीति गर्नेहरुको कुरा छाडौं, एनजिओ चलाउनेहरु पनि मालामाल थिए यतिबेला डलर कमाउन तर भूकम्पपीडित सामान्य फाराममा सहीछाप लगाउँदै सहयोगको आशामा बसेका थिए । ‘सयौं मान्छे आए, हजारौं सहीछाप ठोकियो तर हाम्रा नाममा आएको पैसा उतै सकिन्छ रे । यता अवस्था यस्तो छ ।’ रने दाइले काठमाडौंलाई आरोप लगाए । म चुप थिएँ । रने दाइको अनुहारमा रिस र डाहा थिएन ।

उत्तरतिरबाट कालो बादल मडारिदै थियो । मौसम यति चिसो थियो कि सुन्तली भाउजू डराउँदै भगवानलाई पुकार्दै भनिन्, ‘लौ माराज परमेश्वरी ! पानी चैं नपरोस् ।’
म पनि डराउँदै थिएँ– पानी परिगो भने ओत लाग्नेसम्म ठाउँ थिएन । रने दाइको घर उनका परिवारलाई पनि साँघुरो थियो । म समस्या थप्न चाहन्न । पहिल्यै तयारीमा बस्दा उचित ठानेर चार किल्ला मिलाएर सानो टेन्ट बाँधेर हल्का पानी रोकिनेसम्मको बनाएँ ।
पुस महिनाको अन्त्यतिर अत्यन्त जाडो हुने सिम्लेमा मलाई थुरथुर कपाउँदै थियो । बाँकी भलाकुसारी भोलि गर्ने सल्लाहअनुसार सुत्ने तयारी भयो । काठमाडौंमा दश बजे सुत्ने म यहाँ आठ नबज्दै ब्यागभित्र छिरें । कानमा हेडफोन छिराएर पुराना नवीन के भट्टराईका गीत सुन्न थालें ।

रातको तीन बजेतिर अत्यन्त जाडोको महसुस भयो । ‘सु’ले च्यापेर उस्तै हैरान । जाडो भन्दा ‘सु’को पेलान असह्य भएपछि स्लिपिङ ब्यागको सिक्री खोलें अनि टेन्टबाट बाहिर निस्कन खोजें । ओ माइ गड ! मेरो टेन्टलाई हिउँले पुर्दै थियो । यति बाक्लो हिउँ पर्दै थियो कि मेरा लागि नौलो अनुभव थियो । भूकम्पले लथालिङ्ग पारेको सिम्ले गाउँमा दैव लाग्या जस्तै भयो । जाडोले हैरान सिम्लेबासीलाई अझ मार्न हिउँसहितको चिसो सिरेटो चल्दै थियो ।
टेन्टमा परेको हिउँ झारें । आँगनकै डिलबाट सु तुर्काइदिएँ अनि स्लिपिङ ब्यागभित्र छिरेर टुलुटुलु सिम्लेमा परेको हिउँ हेरें । फुसफुस परेको हिउँ अनवरत झरिरह्यो । रने दाइ उठेर कहिले बाहिर त कहिले भित्र गरे । सुन्तली भाउजू भगवानलाई सराप्दै धारे हात लगाइरहिन् । म बिवश भएर हेरिरहें टुलुटुलु ।

करोडौं रुपैयाँ बैदेशिक सहयोग उठेको समाचार राजधानीमा पढ्न पाइन्छ । लाखौं जनताले सहयोग गरेको कुरा सामाजिक सञ्जालमा हेर्न पाइन्छ तर पीडितका समस्या ज्यूँका त्यूँ आफ्नै आँखाले देखें । छाताको भरोसामा रने दाइ मेरो टेन्ट नजिक आएर भने, ‘सर ! जाडो अति छ, हिड्नुस् भित्र जाम ।’
मैले उनको समस्यालाई थप जटिल बनाउन चाहेन । रने दाइलाई हाँसेरै भनें, ‘दाइ मेरो स्थान न्यानो छ बरु बाबुहरु र भाउजूको ख्याल गर्नुस् ।’
रने दाइले भने, ‘जाडो धेरै छ, सुन्तलीलाई तातो नुने च्या बनाउन लगाम ?’

पीडामा पनि मानवता देख्ने रने दाइको माया देखेर मुटु चस्कियो । स्लिपिङ ब्यागबाट बाहिर निस्केर त्यही ब्यागमा गुटुमुटु परें अनि नजिकै रने दाइलाई बसाउँदै भनें, ‘चिया पिउदिनँ, दुःख नगर्नुस् । बरु बाबुहरुलाई तातोमा राख्नुस् ।’

रने दाइ बेस्सरी हाँस्दै भने, ‘लेकको मान्छेलाई लु लाग्दैन भाइ, तराइको मान्छेलाई औलो लाग्दैन । त्यसैले रैथानेलाई धर्ती पुत्र भनिन्छ नि !’
उनो कुरामा दम थियो । म पनि मुस्कुराइदिएँ । ‘घर बनाउने हैन ? कतिन्जेल कष्ट सहेर बस्ने ?’ मैले रने दाइलाई सोधें ।
उनी आस्कोटको गोजाबाट एउटा चुरोटको ठुटो निकाल्दै सोधे, ‘तपाईलाई त चल्दैन होला, भित्रै सल्काउँ कि बाहिर जाउँ ?’
मैले अनुमति दिएसँगै ठुटो चुरोट सल्काए अनि एक सर्को तानेर खोक्दै भने, ‘घर बनाउन हैसियत अब रहेन भाइ । सरकारको आशामा परान जाला घर बन्दैन । आफै कमाएर कसरी बनाउनु ? हातमुख जोर्नै पुग्दैन ।’

काठमाडौंका तारे होटलहरुमा भूकम्पपछिको पुनःनिर्माणबारे हुने ठूला–ठूला गोष्ठीका बारेमा रने दाइजस्ता पीडित अनभिज्ञजस्तै थिए । रने दाइजस्ता भूकम्पपीडितको नाममा आउने करोडौं डलर कहाँ जान्छ भन्ने रने दाइको चासो थिएन । आएको पैसा र बाँडिने पैसामा भागबण्डा नमिल्दा सदन र सडकमा चर्काचर्की हुन्छ भन्ने पनि रने दाइलाई थाहा थिएन । सरकारी सहयोगको आशा चैं थियो तर पाउने नपाउने भरोसा थिएन सिम्लेबासीहरुमा ।

भूकम्पपछिका दुइ÷चार हप्ता समाचारमा सुनेजस्तै अरबौं रुपैयाँको हिसाबमा आफ्नो हिस्सा पर्खदै रने दाइको परिवार बस्यो तर न घर बन्यो न समस्या ट¥यो । आज पनि उस्तै छ घर, जतिबेला भूकम्पले तहसनहस बनाएको थियो ।
बिहानको नौ बज्ने बेला हल्का मौसम बदलियो । जमेको हिउँ उस्तै थियो । आकाशबाट हिउँ झर्न बन्द भयो । चिसोको बयान यतिबेला नगरुँ । त्रिपाल र फाटेका टिनमा जमेको हिउँ झारेर बासस्थान सुरक्षित गर्न रने दाइका दम्पति लागे । म चैं उनका दुइ भाई छोराहरुलाई हिउँसँग खेल्न बोलाएँ ।
बालाराम ! गाउँघरमा उसलाई बाले भन्दा रैछन् । रने दाइको जेठो छोरो बाले निक्कै असल । शहरका केटाकेटीभन्दा बेग्लै । भूकम्पको बेला तीन कक्षामा पढ्ने बाले त्यसपछि कहिल्यै स्कुल गएन । सिम्ले स्कुल भूकम्पले तहसनहस पारेपछि उसको पढाइ पनि तहसनहस नै भयो । खोल्सा मुन्तिर जमेको हिउँमा चिप्लेटी खेल्दै उसले पहिलो प्रश्न ग¥यो, ‘अंकल ! हजुरसँग पैसा छ ?’
दस बर्षे नाबालकले हिम्मत गरेर सोधेको प्रश्नको उत्तर दिएँ, ‘छ बाबु, किन र ?’
‘पिपलटार स्कुलमा मेरो नाम लेखाइदिनू न । म पढेर ठूलो मान्छे बन्छु अनि पैसा कमाएर घर बनाउँछु ।’ बालेले हातकै इशारा लगाउँदै भविष्य सुनायो ।

म स्तब्ध भएँ । भूकम्पमा परेका गाउँका हरेक केटाकेटीको मानसिकतामा घर नै ठूलो थियो । पढाइको महत्व पैसा कमाउनुमा निहीत थियो । र पैसा कमाएपछि घर बनाउने सपना थियो । हजारौं सपना समाचारले देखाउँथ्यो । लाखौं सपना सामाजिक काम गर्ने संघसस्थाले देखाउँथे अनि पीडित गाउँबासीहरु यस्तै दिवास्वप्न देख्दै निदाउँथे ।
भूकम्प प्रभावित इलाकाबाट बालबालिका तस्करीका खबर मैले दैनिक सुन्थें । काम लगाइदिने, पढाइदिने या अरु कुनै प्रलोभनमा पारेर साना बालबालिका शहर या तेस्रो मुलुक लैजाने गिरोह सक्रिय रहेको काठमाडौंमै सुनेको थिएँ । त्यसलाई कानुनी तरिकाले रोक्न प्रशासन जागरुक थियो तर व्यवहारिक तवरले भूकम्प प्रभावित इलाकामा बालबालिकाको भविष्यसँग जोडिएका स्कुललगायत गास, बास अनि कपासको व्यवस्था सरकारले गर्न सकेको थिएन । आखिर किन ?

एउटा अबोध बालक अपरिचित मान्छेलाई अंकल बनाएर उ सँगै शहरमा पढ्न जान इच्छुक देखिन्छ । सरकार मानव तस्कर रोक्न खोज्छ तर जरो पत्ता लगाउन चाहदैन । समस्या तस्करमा छैन, बालबालिकाको लालन पालनमा छ । सिम्ले यस्तो अबस्थामा पुगेको गाउँ हो, जहाँ साँझ बिहान मुख जोर्न समस्या छ । घर, स्कुल अनि आधुनिक जमाना त परको कुरा ।

भूकम्पपीडित भोकै मरेका बेला शहरमा तिनकै नामको खाद्यान्न कुहाएर गाडिन्छ । पीडित जाडो र बर्षाले काँपेको बेला अनुदानको टिन र त्रिपाल नेताहरु बाँडेर लान्छन् तर पनि रने दाइजस्ता सोझा पीडितले अझै आशा गर्छन् सहयोग र अनुदानको ।
हामी तीन दिनको भ्रमणमा भएता पनि पीडा र बेदना सुन्न नसकेर एकै दिनमा पिप्ले झर्ने निर्णय लियौं ।

बिदा लिदै गर्दा सुन्तली भाउजूले भनिन्, ‘गरिबको घरमा न्यानोमा बस्न नसकेर बेशी झर्दै हुनुहुन्छ । चैत बैसाखमा आउनुला बाबु । मौसम ठिक हुन्छ त्यतिबेला ।’ साँच्चै मौसमकै पर्खाइमा छन् सिम्लेबासी । सरकारले जाडोमा न्यानो बनाउने आशा मात्र देखायो अब भगवान भरोसा । रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!