
दिउँसो २ बजेर १० मिनेट गएको थियो । शुक्रबार, अझ भन्दा ‘गुड फ्राइडे’ कामको भारी बिसाउने, रमाइलो गर्ने दिन । भोलिका लागि सुन्दर योजना बनाउने दिन । घुम्न जाने, मिठो खाने, प्रियजनसँग भेटघाट गर्ने, गफ गर्ने, रमाउने, हाँस्ने, हँसाउने, विश्राम गर्ने, आनन्द लिने दिन ।
घरमा म बाहेक चरो-मुसो कोही थिएन । घरको पूर्व पट्टी ठूला-ठूला धूपीका २ वटा रुख थिए । टन्टलापुर घाममा झ्याउँकिरीको किरकिर आवाज बडो तिठ्यारलाग्दो सुनिन्थ्यो । रुखको हाँगामा एक जोडी भँगेरा रमाई रहेका देखिन्थे । भाले भँगेरो पोथीको पिठ्यूँमा बुरुक्क उफ्रन्थ्यो । पोथी भागे झै गर्थि । पोथी भँगेरी फेरि पल्याकपुलुक हेरेर भालेको शिरमा ट्वाक ठुङ्थि । अनि भाले फेरी पोथीको प्रेममा रमाउँथ्यो ।
२ बजेर १२ मिनेट गएको थियो । मैले उसलाई फोन नगरी रोक्न सकिन । मेरो टाउको रन्कियो । मुटुको चाल तीब्र भयो । दिमागभित्रका नसाहरूमा धेरै वस्तु एकै पटक दगुरेजस्तो भयो । अनायास मेरा गोडाहरू घरको वल्लो कोठा र पल्लो कोठामा चहारिरहे । बिना काम गोडाहरू व्यस्त भए । जब मेरो शरीरले अस्वाभाविक प्रतिक्रिया देखाइरहेको बोध गर्न सके, घुँडा टेकेर शरीरलाई जमिनमा अड्याए । हातहरू निधार हुँदै जब शिर पुगे, थाह भयो, त्यो बेस्सरी चड्किरहेको थियो । शिरको तातोपन मेरा हातभरि फैलियो ।
केही पटक लामो श्वास लिए र फालिदिए । आफूलाई सामान्य अवस्थामा लैजान प्रयास गरे, तर सफल भइन । जुरुक्क उठेर बाथरुम तिर हिँडे । भनन्न रिङ्गटा लाग्यो । हत्केलाको सिरानी बनाएर निदारलाई भित्तामा टाँसे । घर घुम्न रोकिएपछि शिरलाई भित्ताबाट छुटाए । गोडाहरू काम्न थालेका थिए । शिरलाई पानीको धारामा थापेँ ।
चिसो पानीले सकेन सेलाउन मेरो तातो शिर । पुरै शरीरलाई थापे पानीको फोहोरामा । निधारमा हात पुग्दा एउटा अमला फलेको छामियो । हत्केलाले निदारलाई भित्तामा ठोक्किनबाट रोकेन । चिच्याए, केही शब्दहरू, भजनका हरफहरू, भगवानका नामहरू, नुहाउँदा झै गरी । उफ !
मन बुझाउन अनेकन प्रयास गरे । पुस्तक पढे । पढे त के भनौँ प्रयास गरे । आँखाहरू कुदे केहीबेर अक्षरसँगै । तर त्यहाँ पनि मन अडिएन । मोबाइलको म्यासेन्जरमा आएको नोटिफिकेसन आवाजले झन् दिक्क लगाएको थियो । वाइफाई बन्द गरेर मोबाइललाई सिरानीमुनी राखेँ । मोबाइल निकालेर बजाए श्रीमद् भागवत महापुराण । सुन्ने कोसिस गरेँ ।
विज्ञानमा पढेको थियो, ध्वनि सुन्ने काम हाम्रो कानले गर्छ । मलाई त्यो विज्ञानले दिएको ज्ञान लाई ‘यी…’ भनेर लोपार्दिन मन लाग्यो । मेरा दुबै कान सकुशल भएर पनि भागवत गीताको ज्ञान सुनेनन् । बरु सुनिरहे उसले पहिले बोलेको आश्वासनका सुमधुर शब्दहरू । मोबाइलको वाइफाई पुनः अफ गरेर ब्ल्याङ्केट मुनी राखिदिए ।
सधैँ मन खुसी पार्ने म्यासेन्जरको नोटिफिकेसनको आवाजले आज दिक्क लागिरह्यो । १० बजे देखि २ बजेसम्मको ४ घण्टा मलाई ४ वर्ष भन्दा ज्यादा भयो । यो बीच म्यासेन्जरको हरेक घन्टीले मेरो मन कप्लक्कै निल्यो ।
३ बजे सम्ममा म एकदमै कमजोर भइसकेको थिए । गोडाहरू लुला भएका थिए । घुँडा र पिँडुला भित्र खै के हो झमझम गरिरहेको थियो । मनमा आएको बेचैनी र दिमागमा बढेको तनावले कति छिटो सूचना पाएको शरीरका प्रणालीहरूले ? शरीर पुरै अम्लीय बन्न केही बेर लागेन । पेट भित्र खोर्सानी पसे झै गरी पोल्न थालेको थियो । ग्यास भरिएर पेट भारी भएको थियो । बढी भएको ग्यास ठूलो आवाजमा मुखबाट फुत्तफुत्त बाहिर निस्कन्थ्यो । म गलेर कुहिएको फर्सी झैँ फतक्क भए ।
मनलाई सम्झाई बुझाइ गरेर शान्त पार्ने मेरो पटक-पटकको प्रयास व्यर्थ बनिरहेको थियो । जसले मेरो मनलाई संसारकै खुसी दिने तागत राख्छ, उसैले मात्र दुखाउँदो रहेछ मन पनि– कस्तो विरोधाभास ।
नसक्ने कुराको आस किन देखाउनु ? अझ पटक-पटक भन्ने मेरो मनको प्रश्नले आफैँलाई रेटिरह्यो पलपल । यति सानो कुरामा पनि दुखेर आफूलाई कमजोर नबना भनेर फकाउन प्रयास गरे । सानो कुरा प्राप्त हुँदा पनि खुसीले बुरुक्क उफ्रने मन दुख्नलाई पनि कहाँ ठूलो कुरा चाहिँदोरहेछ र ? मान्दै मानेन । मेरो मनको कोमलता र संवेदनशीलता उसलाई थाह नभएको होइन नि, तर पनि किन ? भन्ने प्रश्न तैरीरयो कोमल मनको पोखरीमा ।
उसलाई आफ्नो असमर्थता सुनाउन के ले रोक्यो ? एउटा मेसेज गर्न के ले दिएन ? के १० सेकेन्ड फोन गर्न समय भएन होला र ? भन्ने प्रश्नहरू तँछाडमछाड गर्दै दगुरिरहे । अनि डामीरह्यो मेरो मनलाई तातोले रातो भएको पुन्युले ढाडमा डामे झैँ ।
तातिएको शरीरलाई चिस्याउन १ जग पानी सबै पिए । वाक्क आउला जस्तो भयो । दिन त जसैगरी बित्ला तर राति निदाउन नसक्दा हुने छटपटीको त्रासले मनलाई झन् पिरोल्यो । धड्कन तीब्र भयो । चिटचिट पसिना आयो ।
दिक्क भएको बेला मनलाई खुसी बनाउने सुमधुर संवादका सम्झनाहरू ठेलमठेल गर्दै मस्तिष्कमा आइरहे । छ्या ! कस्तो मन, ती मिठा कुराकानीको सम्झनाले समेत अशान्त झन् थप्यो । प्रश्न उम्रिरह्यो मनमा, किन म मेरो मनको मालिक हुन नसकेको ? मैले शान्त बस भन्दा किन नटेरेको मेरो मनले ? किन आफ्नो मनको मालिक उ भै दिएको ? रुनलाई उसले दुखाइदिनुपर्ने अनि हाँस्नलाई उसले खुसी पारिदिनुपर्ने ? उफ् कस्तो मन ?
(लेखक मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत हुन् ।)















