वैशाख १ गतेबाट चलचित्र ‘घामपानी’ रिलिज हुँदैछ । यो चलचित्रमा नायक दयाहाङ राई र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको प्रचारको समयमा यसका कलाकार नै निर्माण टीमसँग छैनन् । नायिका केकी अधिकारी चलचित्र ‘लभ सासा’ प्रदर्शनका लागि भन्दै अष्ट्रेलिया उडेकी छिन् ।

चलचित्रको ट्रेलरको सार्वजनिक कार्यक्रममा पनि यसका मुख्य २ कलाकार नै उपस्थित थिएनन् । केकी, करिब एक महिना अष्ट्रेलिया बस्ने वुझिएको छ । यसको अर्थ, केकी अधिकारी ‘घामपानी’ रिलिजको समयमा नेपालमा हुने छैनन् । चलचित्र ‘लूट २’को प्रचारको समयमा यसको निर्माणपक्षले कलाकारको साथ नै पाएन । चलचित्र क्षेत्रमा अहिले बलेका मुख्य कलाकार दयाहाङ राई , सौगात मल्लदेखि ऋचा शर्मासम्म चलचित्रको प्रचारमा देखिएनन् । बरु, उनीहरु अन्य चलचित्रको छायांकनमा व्यस्त देखिए ।

विदेशमा हुने कार्यक्रमका लागि दौडने नेपाली चलचित्रका कलाकार स्वेदशमा चलचित्रको प्रचारमा कत्ती पनि मत्तलव गर्दैनन् । जसले गर्दा, अहिले चलचित्र बनाउनेहरु समस्यामा परेका छन् । चलचित्र ‘शब्द’को प्रचारमा यसका मुख्य कलाकार सौगात मल्लको साथ यसको निर्माणपक्षले पाएन । तर, जब यहि चलचित्रको प्रदर्शनका लागि अष्ट्रेलिया जाने कुरा आयो, सौगात चार्टर गरिएको हेलिकप्टर चढेर काठमाण्डौ आए र अष्ट्रेलियन राजदुतावासमा फाइल वुझाउन गए । पछि, उनी करिब आधा महिना अष्ट्रेलियाको शोमा व्यस्त भए । नेपालमा रिलिजको समयमा वेवास्ता गर्ने सौगातका लागि अष्ट्रेलिया बस्ने आधा महिना समय कसरि निस्किएछ कुन्नी ?

चलचित्र ‘पलाँस’को बिषयमा मिडियामा कुराकानी गर्न निर्मात्री कृषा चौलागाइले समय माग्दा, यसका कलाकार कामेश्वर चौरासियाले मिडियाको सूची मागेको चर्चा पनि केहि दिन अगाडि भएको थियो । उनले, आफूले केहि चर्चित मिडिया हाउसका पत्रकारसँग मात्र इन्टरभ्यू दिने भन्दै कृषासँग मिडियाको सूची मागेका थिए । नेपाली कलाकारको घमण्ड कतिसम्म बढेको छ भन्ने उदाहरण कामेश्वरबाट पनि थाहा हुन्छ ।

चलचित्र ‘निर्भय’ यूनिटले नायक निखिल उप्रेतीको खासै साथ पाएन । निखिल चितवन र वुटवलमा आयोजना भएको पत्रकार सम्मेलनमा उपस्थित भएपनि काठमाण्डौमा कुनै पनि पत्रकार सम्मेलनमा देखिएनन् । निखिलको हातमा यतिबेला चलचित्र नै चलचित्र छ । यसैले पनि उनी आफूले नै अभिनय गरेको चलचित्रको प्रचारमा देखिदैनन् । लगातार चलचित्र असफल हुँदा पनि निखिलले अझै करिअरमा ध्यान दिएको पाइदैन । सायद, उनी पनि चलेको बेलामा पैसा कमाईहालौ भन्ने सोचमा दौडिएका छन् ।

नेपालमा अहिले चलेका भनिएका केहि कलाकार हातमा आधा दर्जन भन्दा बढी चलचित्र लिएर बसेका छन् । उनीहरु, चलेकै बेला हो पैसा कमाउने भन्ने धुनमा लागेको देखिन्छ । जसले गर्दा, चलचित्र बनाउनेहरुले कलाकारको साथ पाइरहेका छैनन् ।

चलचित्रको प्रचार पनि आफ्नै लागि हो भन्ने कलाकारहरुले विर्सिएका छन् । अहिले प्रदर्शन भैरहेको चलचित्र ‘लप्पन छप्पन’को प्रचारमा पनि दया र सौगातको साथ निर्माण यूनिटले पाएन ।

यसरि, कलाकारले चलचित्रको प्रचारमा वेवास्ता गर्दा यसको स्वयंम घाटा कलाकारलाई नै हुन्छ । तर, उनीहरु भने चलचित्र खेल्नु र पैसा कमाउनु मात्र कलाकारको धर्म हो भन्ने सोचिरहेका छन् ।

चलचित्रको प्रचारमा कलाकारले साथ नदिएपछि अहिले केहि निर्माता-निर्देशकहरु कलाकारको खुलेरै आलोचना पनि गरिरहेका छन् । तर, धेरै निर्माताहरु चर्को मुल्य लिएर कलाकारलाई लिएपनि प्रचारमा साथ नदिदा खल्लो महुशश गरिरहेका छन् । के चलचित्रको प्रचारमा साथ दिनु कलाकारको धर्म होइन र ?-अनलाइन खवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!